images
images
  • एन्टिबायोटिकले काम नगर्दा नेपालमा वार्षिक ६ हजारको मृत्यु, किन हुन्छ यस्तो ?

    काठमाडौं– एन्टिबायोटिक (एएमआर)ले काम नगर्दा नेपालमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार एन्टिबायोटिकले काम नगर्दा नेपालमा बर्सेनि ६ हजारले ज्यान गुमाउने गरेका छन् । एन्टिबायोटिकको दुरुपयोगकै कारण यस्तो अवस्था निम्तिएको चिकित्सकहरूको भनाइ छ ।

    स्वास्थ्य मन्त्रालयले सन् २०२४ देखि नेपालमा एन्टिबायोटिकले काम नगर्दा मृत्यु हुनेको अध्ययन र तथ्यांक संकलन थालेको थियो । सन् २०२४ मा पाँच हजारहाराहारीको मृत्यु भएको थियो । सन् २०२५ अक्टोबरसम्म करिब ६ हजारको मृत्यु भएको पाइएको छ । यो तथ्यांक मन्त्रालयले अस्पतालहरूमा उपचार गराउन आउने बिरामी र उपचारमा संलग्न चिकित्सकले दिएको रिपोर्टका आधारमा तयार पारेको हो ।

    स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्माका अनुसार पछिल्लोपटक अस्पतालहरूमा नमुना संकलनसमेत गरेर हेर्दा नेपालमा एन्टिबायोटिकले काम गर्ने अवस्था कमजोर हुँदै गएको देखिएको छ । अस्पतालहरूमा मृत्यु हुनेको रिपोर्ट र बिरामीको ‘ट्रिटमेन्ट हिस्ट्री’का आधारमा मन्त्रालयले एन्टिबायोटिकले काम नगर्दा अर्थात् यसको रेसिस्टेन्स दर बढी देखिएको हो ।

    ‘हामीले पछिल्ला समयदेखि मात्रै मृत्यु हुने बिरामीमा एन्टिबायोटिकले काम गरेको थियो वा थिएन भनेर अध्ययन गरेका थियौँ, त्यसरी हेर्दा कतिपयमा काम गरेको पाइएन, जटिल स्वास्थ्य अवस्थामा जब एन्टिबायोटिकले काम गर्न छाड्छ त्यसपछि बिरामी निको हुने अवस्था न्यून हुन्छ,’ उनले भने, ‘एन्टिबायोटिकको प्रयोग मनपरी भएकाले यसलाई नियन्त्रण गर्न सन् २०२३ देखि पञ्चवर्षीय योजनाअनुसार काम गरिरहेका छौँ । यसबारे शिक्षा र जनचेतना दिने, इन्फेक्सन प्रिभेन्सनका कार्यक्रम चलाउने, समुदायस्तरमा पुगेर रिसर्च गर्ने, थप रणनीति तय गर्नेलगायत काम भइरहेका छन् ।’

    शर्माका अनुसार पछिल्लो समय फार्मेसीहरूमा पनि मनपरी रूपमा एन्टिबायोन्टिक बिक्री–वितरण हुने गरेको छ । सरकारले त्यस्त फार्मेसीमा अनुगमनसमेत थालेको छ । ‘हामीले अनुगमन गरिरहेका छौँ । फार्मेसीहरूलाई पत्राचार गरेका छौँ । एएमआरबारे क्युआर कोड राख्ने, पाठ्यपुस्तकमा समेत यसबारेमा राख्दै छौँ । थाहा भएर वा नभएर यसको प्रयोग बढ्दो छ । विश्व स्वास्थ्य संगठनले पनि यसमा काम गरिरहेको छ । मन्त्रालयले अहिले कुन–कुन एन्टिबायोटिकको मनपरी प्रयोग र वितरण भइरहेका छ भन्नेबारेमा समेत अध्ययन थालेको छ,’ उनले भने ।

    एन्टिबायोटिककै कारण सन् २०५० सम्म विश्वमा वार्षिक एक करोड मानिसको मृत्यु हुने प्रक्षेपण
    विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म एएमआरका कारण विश्वमा वार्षिक एक करोड मानिसको मृत्यु हुने प्रक्षेपण पनि गरेको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले एन्टिबायोटिकको अध्ययन गर्न जनस्वास्थ्य प्रयोगशालाबाट ल्याब टेस्टसमेत भइरहेको बताए । ‘नेपालमा जथाभावी एन्टिबायोटिकको प्रयोग भइरहेको छ, यसले मानिस र वातावरण दुवैमा असर पुर्‍याइरहेको छ, मन्त्रालयले त्यस्तो धेरै काम त गरेको छैन, तर जनस्वास्थ्य प्रयोगशालामा विभिन्न नमुना परीक्षण गरेर पञ्चवर्षीय योजनामा काम भइरहेको छ,’ उनले भने, ‘कुन एन्टिबायोटिक औषधिले कति प्रतिशत काम गरिरहेको छ भन्नेबारेमा हाल अध्ययन जारी छ ।’

    केसीका अनुसार एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न स्वास्थ्य, कृषि तथा पशुपक्षी र वातावरण मन्त्रालयले संयुक्त रूपमा ०८१ देखि ०८६ सम्मको कार्ययोजना तय गरेर काम थालेका छन् । जसअन्तर्गत पशुपक्षीमा एन्टिबायोटिकको प्रयोग भए–नभएको अध्ययन गर्ने, प्रयोगमा रोक लगाउने, मासु र जनावरको नमुना जाँच गर्नेलगायत काम भइरहेका छन् । ‘हामीकहाँ रुघा लागेको वेलामा एन्टिबायोटिक दिने गरिन्छ, अझ रातो स्टिकर लगाएको एन्टिबायोटिक फार्मेसीले समेत मनपरी रूपमा दिन्छन्, यो त सरासर लापरबाही हो,’ उनले भने, ‘अहिले हामीले फार्मेसीहरूलाई पनि पत्राचार गरिसकेका छौँ ।’

    केसीले एन्टिबायोटिकको प्रयोग मानिसमा मात्रै नभएको र पछिल्लो समय कृषि र पशुपक्षीमा समेत भएकाले त्यसको असर मानिसमा परेको बताए । पशुपक्षीलाई एन्टिबायोटिक खुवाउने र मानिसले त्यसको मासु खाँदा सीधै मानिसको शरीरमा असर पुर्‍याउने गर्छ । अझ पछिल्लो समय कुखुराको दानामा समेत एन्टिबायोटिक मिसाउनेदेखि कुखुरालाई एन्टिबायोटिक इन्जेक्सन र तौल बढाउन हानिकारक भिटामिन प्रयोग गरिन्छ । त्यस्ता कुखुराको मासु खाँदा मानिसको शरीरमा प्रत्यक्ष असर पारिरहेको छ । यस्तो अवस्थामा मानिस सिकिस्त बिरामी भएर एन्टिबायोटिक औषधि चलाउँदा काम नगर्ने र मृत्यु हुने क्रम बढ्दो छ ।

    ‘हामीकहाँ मासु उत्पादन गर्ने पोल्ट्री फार्ममा भिटामिन र एन्टिबायोटिक दिने काम भएको छ, यो त खेलबाड हो, नीतिगत निर्णय पनि अब बलियो चाहिन्छ,’ महाशाखा प्रमुख शर्माले भने, ‘अहिले हामीले पशुपक्षीको समेत विभिन्न नमुनाहरू लिएर अध्ययन गरिरहेका छौँ, मासु तथा कुनै पनि खानेकुरामा एन्टिबायोटिकको मात्रा देखिनुभएन ।’

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले देशभर २६ वटा अस्पतालबाट नमुना संकलन गरेर एन्टिबायोटिकको परीक्षण गरिरहेको बताए । ‘कुन–कुन एन्टिबायोटिकले काम गर्न छाडेको छ र कुनले बढी काम गरिरहेको छ वा छैन भन्नेबारेमा हामीले नमुना परीक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिले समुदायस्तरमा पनि के छ भनेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एन्टिमाइक्रो बिएर रजिस्टेन्ट परीक्षण गर्न थालेका छौँ, कतिपय नतिजामा एन्टिबायोटिकले काम गर्न छाडेको अवस्था देखिएको छ, यो निकै डरालाग्दो चुनौती हो ।’

    स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाकी वरिष्ठ औषधि प्रशासक उषा तण्डुकारले पनि नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सबारे सचेत हुन आवश्यक रहेको बताइन् । ‘यसबारे काम गर्न एक्सन प्लान पनि बनेको छ, अब यसलाई कम गर्न र दुरुपयोग नगर्न व्यापक जनचेतना प्रवाह गर्नुपर्छ,’ उनले भनिन् ।

    विश्व स्वास्थ्य संगठनले पनि नेपाल सरकारलाई यसबारे वेलावेलामा सचेत गराउँदै आइरहेको छ । हाल स्वास्थ्य मन्त्रालयसँग समेत एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न संगठनले अध्ययनमा सहयोगसमेत गरेको छ । संगठनकी एएमआर फोकल पर्सन डा. पल्पसा कंसाकारले नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स डरलाग्दो अवस्थामा देखिन थालेको बताइन् । ‘नेपालजस्तो देशमा पनि दिनप्रतिदिन एन्टिबायोटिकले काम नगर्ने अवस्था बढ्दो छ, यसबारेमा समयमै सचेत र गम्भीर हुन जरुरी छ,’ उनले भनिन्, ‘एन्टिबायोटिकले काम नगर्दा मानिसको ज्यान जान्छ, उपचार पनि असफल हुन्छ, यो मानव जीवन र मेडिकल विज्ञानको पनि चुनौती बनेको छ, त्यसैले सचेत हुनुपर्छ ।’ कंसाकारका अनुसार मानिसको रोग र त्यसलाई आवश्यक पर्ने एन्टिबायोटिक बनाउन सयौँ वर्ष लाग्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images