images
images
  • प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस–एमालेबीच गठबन्धनको तयारी तीब्र

    काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलकाबीच नै गठबन्धन भएपछि त्यसलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि दलबीच गठबन्धनको गृहकार्य थालिएको छ ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन बनाएर चुनावमा सहभागी हुने प्रमुख दलबीच छलफल सुरु भएको हो ।

    कुन विकल्पमा छलफल हुदैँछ
    नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बीच चुनावी गठबन्धनबारे छलफल भइरहेको छ ।

    जेनजी आन्दोलनपछि नयाँ शक्ति एकजुट हुन थालेपछि प्रमुख दलबीच पनि चुनावी गठबन्धन गर्न छलफल सुरु भएको हो । राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ ।

    यस गठबन्धनमा जनता समाजवादी पार्टी पनि सहभागी छ । राष्ट्रिय सभा निर्वाचनका लागि सुरुमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०सहितको गठबन्धन भएको थियो ।

    तर प्रचण्ड नयाँ दिल्लीबाट फर्किएसँगै त्यो गठबन्धनबाट नेकपा बाहिरियो । सिट बाँडफाँटमा सहमति नभएपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कांग्रेस र एमाले पनि नजिकिएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँग गठबन्धन नगर्न पार्टीभित्रैबाट महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका नेताले दबाब दिँदै आएका छन् ।

    तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक छलफल गर्दै आएका देउवा गठबन्धन गर्न सहमत भएका हुन् । देउवा र ओलीबिच प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धनबारे छलफल भइरहेको स्रोतको दाबी छ ।

    स्रोतका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन भइसक्यो । यो चुनावी गठबन्धन प्रतिनिधिसभा निर्वाचनका लागि पनि हुनसक्छ । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर छलफल भइरहेको छ ।

    ‘जहाँ कांग्रेस र एमाले उम्मेदवारलाई अरु पार्टीले जित्ने सम्भावना छ, त्यहाँ अनिवार्य गठबन्धन हुन्छ । जुन सिटमा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने र कांग्रेस वा एमालेकै उम्मेदवार विजयी हुने निश्चित छ त्यहाँ गठबन्धन नहुन सक्छ,’ स्रोत भन्छ ।

    देउवा र ओलीबिच भक्तपुर–१ बाहेक सबै क्षेत्रमा गठबन्धन गर्ने छलफल भइरहेको छ । १ सय ६४ सिटमा कांग्रेस र एमालेले ८२/८२ सिट लिनेगरी छलफल भइरहेको छ । त्यस्तै, जुन सिटमा कांग्रेस वा एमालेकै उम्मेदवार विजयी हुने निश्चित छ । त्यहाँ मित्रवत प्रतिस्पर्धा गर्ने र बाँकीमा आधा–आधा सिट भागबण्डा गर्ने दोस्रो विकल्पबारे समेत छलफल भइरहेको छ । यसैगरी, तेस्रो विकल्पका रूपमा २०७९ को निर्वाचनमा आफूहरू दुई वटामध्ये जुन पार्टीले जितेको हो ।

    त्यो निर्वाचन क्षेत्रमा त्यही पार्टीलाई सघाएर बाँकी रहेका सिटमा पनि मत प्रतिशतका आधारमा भागबण्डा गर्ने प्रस्तावमा समेत देउवा र ओलीबीच छलफल भएको छ । यी प्रस्तावसहित १ सय ६५ वटै निर्वाचन क्षेत्र गहन अध्ययन गर्न दुबै पार्टीका नेता जुटेका छन् । देउवा र ओलीबीचमा भएको छलफलमा सय सिटमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा रहेको र बाँकी सिटमा नेकपा, रास्वपा, राप्रपा, जसपा, आजपा, जनमतसहितका दलसँग प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ ।

    सहरी क्षेत्र (काठमाडौं उपत्यका)मा रास्वपासँग प्रतिस्पर्धा हुनसक्ने देउवा र ओलीको अनुमान छ । सुदूरपश्चिमसहित कर्णालीमा नेकपासँग र मधेशमा जसपा, आजपा, जनमत तथा पूर्वमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग प्रतिस्पर्धा हुनसक्ने अनुमान गरिएको छ । –पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images