images
images
  • के धेरै समय सुत्ने बानीले पनि स्वास्थ्य समस्या निम्त्याउछ ?

    काठमाडौं–  निद्रा मानव जीवनको आधारभूत आवश्यकता हो । स्वस्थ भएर जिउनका लागि पर्याप्त निद्रा अपरिहार्य छ । निद्रा कम हुनेवित्तिकै हामीमा विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य समस्याहरू देखापर्छ । शरीरको मर्मत, मस्तिष्कको विकास, रोग प्रतिरोधी क्षमता बढाउने र मानसिक स्वास्थ्य कायम राख्न निद्राको भूमिका रहन्छ ।

    वयस्क व्यक्तिका लागि दैनिक ७ देखि ९ घण्टा निद्रा आवश्यक पर्ने विभिन्न अनुसन्धानहरूले देखाएका छन् । यो अवधि व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र जीवनशैलीमा निर्भर गर्छ।

    सुत्नका लागि उपयुक्त अवधि कति हो ?

    निद्राको आवश्यकता उमेर अनुसार फरक पर्छ । अझ यसमा कत्तिको गहिरो निद्रा पर्छ भन्ने कुराले समय निर्धारण हुने विज्ञहरू बताउँछन् ।

    यदि हामी पूरा निद्रा सुत्छौँ भने शरीर ऊर्जावान हुने र स्वस्थ महसुस गर्न सक्छौँ । कम समय सुत्दा हामीलाई विभिन्न स्वास्थ्य समस्या हुने कुरा धेरै सुनिरहेका हुन्छौं । निर्धारित समय भन्दा बढी सुत्दा चाहिँ के हुन्छ त ? त्यसले हाम्रो स्वास्थ्यमा कुनै हानि पुर्‍याउँछ कि पुर्‍याउँदैन त ?

    धेरै सुत्नुलाई सामान्यतया हाइपरसोमिया भनिन्छ । कुनै समयमा धेरै सुत्नु पनि शारीरिक आवश्यकता बन्छ । जस्तो: बिरामी हुँदा वा कुनै कारणवस अघिल्ला दिनमा निदाउन पाइएको छैन भने त्यसलाई पूर्ति गर्नका लागि धेरै सुत्नु स्वभाविक नै हुन्छ । तर नियमित रूपमा धेरै सुत्ने बानी छ भने त्यसले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउने जोखिम रहन्छ ।

    विभिन्न समयमा भएका विभिन्न अध्ययनहरूले धेरै समय सुत्दा हुने स्वास्थ्य जोखिमहरू निम्त तरिकाले औल्याएको छ:

    मुटु रोग र स्ट्रोकको जोखिम

    धेरै सुत्नेहरूमा मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको सम्भावना 20 देखि ५० प्रतिशतसम्म बढी हुन्छ भन्ने कुरा अध्ययले देखाएको छ। यसले रक्तनलीहरू कडा बनाउने अध्ययनहरूको निष्कर्ष छ ।

    मधुमेह र मोटोपन

    हरेक दिन नियमित ९-१० घण्टा सुत्नेहरूमा टाइप २ मधुमेह र मोटोपनको जोखिम बढ्छ । यसले भोक हर्मोनहरू, घ्रेलिन र लेप्टिनलाई असन्तुलित बनाउँछ, जसले बढी खाना खाने बानी गराउँछ।

    डिप्रेसन र मानसिक स्वास्थ्य समस्या

    धेरै सुत्नु डिप्रेसनको लक्षण हुन सक्छ वा यसलाई बढाउँछ । यसले सेरोटोनिन उत्पादन घटाउँछ, जसले मुड खराब बनाउँछ।

    टाउको दुखाइ र थकान

    धेरै सुत्दा स्लिप इनर्सिया हुन्छ, जसले दिनभरि थकान र टाउको दुखाइ गराउँछ ।

    संज्ञानात्मक ह्रास

    मस्तिष्कको कार्यक्षमता घट्छ, स्मृति कमजोर हुन्छ र निर्णय क्षमता प्रभावित हुन्छ।

    आयु कम

    धेरै वा कम सुत्नेहरूमा मृत्युको जोखिम बढ्छ भन्ने कुरा केही अध्ययनहरूले देखाएका छन् ।

    के गर्ने ?

    सुत्ने दैनिकीलाई सकेसम्म नियमित बनाउनु सबैभन्दा प्रभावकारी तरिका हो । हरेक दिन सुत्ने समय एउटै बनाउनु पर्छ । कम्तीमा दिनमा ७-८ घण्टा सुत्ने गर्नुपर्छ । सुत्नु अघि स्क्रिनबाट टाढा रहने । नियमित व्यायाम गर्ने । क्याफिन र अल्कोहलको सेवनलाई सीमित गर्ने। सुत्ने कोठा अन्धकार, शान्त र सही तापक्रममा राख्ने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images