काठमाडौं– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकायतर्फको एलएलबी दोस्रो वर्षको नतिजा सार्वजनिक गर्दा पास भइसकेको विषयमा पनि फेल जनाइदिएर त्रुटी गरेको पाइएको छ । यो त्रुटीको मारमा पत्रकार कौशिला कुँवर परेकी छन् ।
कुँवरका अनुसार उनले २०७९ सालमा एलएलबी सेकेण्ड इयर (पुरानो कोर्स) मा पाँच विषयको परीक्षा दिएकी थिइन् । तीमध्ये तीन विषयमा पास र दुई विषयमा फेल भइन् ।
फेल भएका दुई विषय (क्रिमिनल ल र एभिडेन्स ल) को फारम भरेर पुनस् परीक्षामा सहभागी भइन् । केही दिनअघि सार्वजनिक नतिजामा ती दुवै विषयमा पास पनि भइन् ।
तर दुस्खको कुरा मार्कसिटमा पहिल्यै पास भइसकेको ‘पब्लिक इन्टरनेसनल ल’ विषय पनि उल्लेख गरी परीक्षामा अनुपस्थित भएको जनाइएको छ । अनि मार्कसिटको पुछारमा नतिजाको सार ‘फेल र अब्सेन्ट’ लेखिएको छ ।
‘रिजल्ट आएको थाहा पाएपछि मैले आइतबार राति अनलाइनमा चेक गरेँ । त्यसमा त पहिल्यै पास भइसकेको विषयमा पनि अब्सेन्ट लेखेर फेल जनाइएको रहेछ,’ उनले भनिन्, ‘जबकी मैले पब्लिक इन्टरनेसनल ल विषयमा परीक्षा फारम भरेको पनि थिइनँ ।’
उनले आफ्नो पुरानो मार्कसिट र हालै सार्वजनिक नतिजाको विवरण फेसबुकमार्फत् सार्वजनिक गर्दै लेखेकी छन्, ‘टीयूको कमाल पहिला नै पास भइसकेको विषय राखेर जबर्जस्ती फेल गराएपछि के भन्ने खै ?
परीक्षा नियन्त्रण कार्यालयबाट हुने गल्तीबाट विद्यार्थीहरुले सास्ती पाउने गरेको गुनासो पटक–पटक आउने गरेको छ । पत्रकार कुँवर भन्छिन्, ‘मजस्ता हजारौं विद्यार्थीहरु परीक्षा नियन्त्रण कार्यालयले गर्ने गल्तिका कारण सास्ती भोग्नुपरेको छ । यस्ता गल्ती अब नगरिदिए हुन्थ्यो ।’
के भन्छन् परीक्षा नियन्त्रक ?
त्रिविका परीक्षा नियन्त्रक प्रा.डा. लक्षमण पौडेलले परीक्षा नियन्त्रण कार्यालयको तर्फबाट भएको गल्ती सच्याइने बताउँछन् । ‘हाम्रो गल्ती भए सच्याइन्छ, त्यसका लागि सच्याउने प्रक्रियातिर जानुपर्यो,’ उनले भने ।
त्यसका लागि सम्बन्धित विद्यार्थीले पहिला पास भइसकेको मार्कसिटसहित निवेदन पेस गर्नुपर्ने हुन्छ । तर त्यसका लागि आवेदन दस्तुर तिर्नुपर्ने लगायतका प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ ।
कौशिला कुँवरले फेसबुकमा सार्वजनिक गरेको मार्कसिट



विश्व खबर 




















