images
images
  • टायल्स उद्योग भित्रै दुई मजदुरको शंकास्पद मृत्यु, उद्योग बन्द गरी छानबिन गर्ने सहमति

    काठमाडौं– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– १२, भटौलियामा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको सुतिरहेकै अवस्थामा शंकास्पद मृत्यु भएको छ ।

    काम गरेर उद्योगको कोठामा सुतेका बर्दघाट नगरपालिका– १३, धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारतको उत्तर प्रदेशका ३० वर्षीय विनोद कुमारको मृत्यु भएको हो । दुवैजना ग्यासी फायर ९अग्नि नियन्त्रण० प्लान्टमा कार्यरत थिए ।

    उद्योगको ग्यासी फायरको पोकिङ फ्लोरमा एकैठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । शरीरमा बाहिरी कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ ।

    यही घटनाका कारण भटौलिया क्षेत्र दिनभर तनावग्रस्त बनेकामा उद्योग बन्द गरेर छानबिन गर्ने सहमतिपछि साँझ मात्र शव उठेको छ ।

    पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले उद्योग सिल गरेर घटनाको अनुसन्धान गर्ने सहमति पछि आफन्तले शव बुझेको बताए । शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

    उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले ग्यास लिग नभई कोठामा सुतेको अवस्थामा अक्सिजनको कमी भएर मृत्यु भएको हुन सक्ने बताए । स्थानीय बासिन्दा र पीडित परिवारका आफन्तले उद्योग घेराउ गर्दै दिनभर प्रदर्शन गरेका थिए ।

    मृत्यु भएको बिहानै जानकारी भए पनि उद्योग प्रशासनले प्रहरी र मृतकका आफन्तलाई बिहान ८ बजेपछि मात्र खबर गरेका थिए । उद्योग प्रशासनले प्रहरी र आफन्तलाई खबर गर्न ढिलो गरेपछि घटना थप शंकास्पद देखिएको स्थानीयको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images