काठमाडौं– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय सिटी सफारी चालक विजय साहको मृत्यु भएको छ । १० बोरा चिनी सिटी सफारीमा तस्करी गरेको आरोपमा सशस्त्र प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।
घटना बुधबार राति करिब १ः१० बजे पुरी टोलमा भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तस्करी नियन्त्रणका लागि अनुसन्धानका क्रममा खटिएको सशस्त्र प्रहरीले गोली चलाउँदा साहको घटनास्थलमै मृत्यु भएको थियो । हानेपछि लौकहीबजार दिनभर तनावग्रस्त, भयो ५ बुँदे सहमति
सीमावर्ती क्षेत्रबाट दुई–तीन वटा सिटी सफारी तथा अटो रिक्सामा चोरी तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भिडन्त भएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीको दाबी छ । सशस्त्र प्रहरीका अनुसार तस्करीमा संलग्नहरूले सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गर्दा साहको मृत्यु भएको हो । अवैध रूपमा भारतीय क्षेत्रबाट सामान ल्याउँदै गरेको अवस्थामा रोकेर बुझ्न खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएपछि जवाफी फायरिङ गरिएको हो, सो क्रममा एक जनाको मृत्यु भयो ।
यता, सशस्त्र प्रहरीले साहको हत्या गरेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेपछि लौकहीबजार तनावग्रस्त बनेको थियो । पूर्वपश्चिम राजमार्गस्थित लौकहीबजारमा मृतक साहको शव राखेर उनीहरूले यातायात ठप्प बनाएका थिए भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका थिए ।
स्थानीयले प्रहरीमाथि ढुंगामुढासमेत गरेका छन्, प्रहरीले भिड तितरबितर पार्न हवाई फायर गरेको छ । साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेका थिए ।
सिटी चलाइरहेको अवस्थामा उहाँमाथि गोली प्रहार भएको हो । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवादभएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।
साहको मृत्युसँगै परिवारको जीविकोपार्जन संकटमा आइपरेको छ । उनकी पत्नी गीता गृहिणी हुन्, उनीहरूका दुई छोरा र एक छोरी छन् । एक छोरा अपाङ्गता भएका छन् । साह बस्दै आएको पुरी टोल भारतीय छोटी भन्सार लौकहीसँगै छ ।
यहाँबाट भारतको बेलाह बजार नजिकै पर्छ । बेलाह बजारबाट व्यापारीहरूले भन्सार छलीका सामान आयातनिर्यातको धन्दा बढेको कयौँ पटक खुलिसकेको छ । २०७८ असारमा सोही नाकामा दुई ट्रक चिनियाँ स्याउ बरामद भएको थियो ।
यहाँ एपीएफको सीमा सुरक्षा पोस्ट छ । बुधबार राति ११ बजेतिर खाना खाएर साहले सफारी निकाले । बेलाह बजार पुगेर चिनीलगायतका सामान लिएर फर्किए । सामान पु¥याएपछि उनी फेरि बेलाह गए ।
श्रीमती गीताका अनुसार दोस्रो पटक सामान लिएर आउँदा ड्युटीमा रहेका सशस्त्र प्रहरीले उनलाई रोके । प्रहरीले पैसा माग्दै सामान रोकेपछि १२ बजेतिर पतिले फोन गरेको गीता बताईन । घटनास्थल पुगेका पत्रकारहरूसँग गीताले भनिन्– ‘उहाँसँग फोनमा बोल्दा प्रहरीले पैसा मागेर विवाद गरिरहेको सुनेकी थिएँ । ५ सय मागिरहेको प्रस्ट सुनिन्थ्यो । गाडी साइड लगाउन भनिरहेका थिए । त्यही बेला ड्याङ्ग गोली चल्यो, त्यसपछि बोल्नुभएन ।’
घट्नास्थल मृतकको घरबाट करिब ३ सय मिटरको दुरीमा छ । पति नबोलेपछि गाउँलेसहित खोजी गर्न जाँदा साह भुइँमा ढलेका भेटिए । गोली लागेर ढलेका साहको आफूहरू पुग्नुअघि नै मृत्यु भइसकेको गीताको दाबी छ ।
विजयको प्र १ ०२–००३ ३३१७ नम्बरको सफारीमा ७ बोरा चिनी, २ कार्टुन चक्लेट र अन्य सरसामान थियो । साहको छातीमा गोली लागेको थियो । कुन व्यापारीका लागि सामान ल्याएको भन्ने खुलेको छैन ।
उत्पन्न तनाव अन्त्य गर्न पीडित परिवार र स्थानीय प्रशासनबीच ५ बुँदे सहमति भएको छ । सुनसरीका प्रहरीका अनुसार पीडित पक्षसँगको वार्तामा घटनाको छानबिन गर्ने र पीडित परिवारलाई राहत र रोजगारीमा सहयोग गर्ने सहमति भएको छ ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफलले छानबिन समिति गठन गर्नेदेखि मृतकका परिवारलाई राहत र रोजगारी उपलब्ध गराउनेसम्मका निर्णय गरेको हो । घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहने गरी एक छानबिन समिति गठन गरिएको छ । उक्त समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।
यदि छानबिनबाट सुरक्षा अधिकारीको लापरबाहीका कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपूर्तिका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरिने सहमतिपत्रमा उल्लेख छ ।
प्रशासनले मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने प्रतिबद्धता जनाएका छन् ।
साथै, मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा उनलाई नियमानुसार आवश्यक सहयोग र सहजीकरण सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले गरिदिने पनि सहमति भएको छ ।
छलफलमा भएको सहमतिसँगै स्थानीय बासिन्दा मृतकको शव पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्न र त्यसपश्चात् दाहसंस्कार गर्न तयार भएका छन् ।
यसअघि स्थिति नियन्त्रणबाहिर जान लागेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । स्थानीय प्रशासनले संयमता अपनाउन र वार्तामा आउन आग्रह गरेपछि यो सहमति भएको हो ।























