images
images
  • गठबन्धन गरेर ४ वटा चुनाव चिह्नमा १० दलले दिए उम्मेदवारी

    काठमाडौं– निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि ५४ वटा राजनीतिक दलले आफ्नै चुनाव चिह्नबाट उम्मेदवारी दिएका छन् भने अन्य दस वटा राजनीतिक दलहरुले भने गठबन्धन गरेर उम्मेदवारी दिएका छन्।

    एकल चुनाव चिह्न लिएर भाग लिन पाउने कानुनको व्यवस्थाबमोजिम दलहरूले गठबन्धन गरेर ४ वटा चुनाव चिह्नमा १० दलले उम्मेदवारी दिएका हुन्।

    आयोगका अनुसार पूर्वराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, हरिनन्दन कुमार रंजन नेतृत्वको बहुजन एकता पार्टी नेपाल र धुपलाल प्रसाद सहनी नेतृत्वको नेपाल जनजागृति पार्टीले गठबन्धन गरेर बस चुनाव चिह्नमा उम्मेदवारी दिएका छन्। बस संघीय समाजवादी पार्टीको चुनाव चिह्न हो।

    त्यस्तै, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी संरक्षक रहेको कविर सोप नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि गठबन्धन गरेर एउटै चुनाव चिह्नबाट लड्ने भएका छन् । उनीहरूले चकिया (जाँतो) चुनाव चिह्नमा उम्मेदवारी दिएका छन्।

    त्यस्तै, प्रभु साह नेतृत्वको आम जनता पार्टी र रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपालले पनि गठबन्धन गरेर मोबाइल चुनाव चिह्नमा लड्ने भएका छन्।

    त्यस्तै, पुण्यप्रसाद प्रसाईं नेतृत्वको सचेत नेपाली पार्टी र भरत खड्का नेतृत्वको नागरिक सर्वोच्चता पार्टीले पनि जगर भएको सिंह चुनाव चिह्नमा उम्मेदवारी दिएका छन्।

    यसपटक समानुपातिकतर्फका ११० सिटका लागि ३ हजार ४२४ जनाको उम्मेदवारी परेको हो। यसपटक ५८ वटा चुनाव चिह्नमा ६४ वटा राजनीतिक दलहरूले उम्मेदवारी दिएका आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images