images
images
  • निर्णायक शक्ति बन्ने दौडमा रवि लामिछाने, नेपाली राजनीतिमा ठूलै उथलपुथल

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौंस्थित नख्खु कारागारबाट निस्केको दुई साता हुँदै छ । यसबीचमा नेपाली राजनीति समीकरणमा ठूलै उथलपुथल भयो ।

    सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि पुस ४ गते जेलबाट रिहा भए । लगत्तै उनको राजनीतिक सक्रियता ह्वात्तै बढेको हो।

    समानुपातिकतर्फको बन्दसूची बुझाउनुअघि नै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसहितका समूहलाई एकीकृत गरेर उनले आउँदो चुनावमा रास्वपालाई राष्ट्रिय शक्ति बनाउने बलियो आधार तयार पारेका छन् ।

    २१ फागुनमा तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको नामावली पुस १३ र १४ गते बुझाउनुपर्ने तालिका थियो ।

    राजनीतिक दलहरू समानुपातिकतर्फ उम्मेदवार फाइनल गर्दै गर्दा लामिछाने काठमाडौंका मेयर बालेन र उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङसँग संवादमा थिए ।

    पुस १३ मा लामिछाने र बालेन शाहबीच सातबुँदे सहमति भयो । सहमतिअनुसार बालेन शाह प्रतिनिधि सभाको निर्वाचनपछि रास्वपाको संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् । रवि लामिछाने पार्टीको सभापति नै रहनेछन् ।

    सहकारी ठगीको आरोपमा जेल परेपछि रास्वपाभित्रैबाट लामिछानेलाई नेतृत्व छाड्न दबाब थियो । सुमना श्रेष्ठ र सन्तोष परियारलगायतका नेताले सोही अडान राखेर पार्टी नै छाडेका थिए ।

    तर जेलबाट निस्केलगत्तै रविले पार्टीमा ऊर्जा मात्रै थपेनन् । पार्टीका प्रभावशाली नेताहरू स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल, असिम शाहलगायतको उपस्थितिमा आफ्नै नेतृत्वमा रास्वपामा बालेनलाई भित्र्याए । यसले उनको उचाइ पार्टीभित्र र बाहिर पनि बढायो । लगत्तै पुस १४ गते घिसिङसँग पनि सहमति गरे ।

    पार्टीको नाम रास्वपा, चुनाव चिह्न घण्टी र सभापतिमा लामिछानेलाई नै स्वीकारेर बालेन र कुलमान रास्वपामा मिसिए । जेनजीका थुप्रै प्रतिनिधि पनि रास्वपामै गोलबन्द भएका छन् ।

    रास्वपामा यस अगाडि नै साझा विवेकशील मिलिसकेको छ । अर्थात् रविले अदालतमा आफूमाथि जेजस्ता आरोप रहे तापनि राजनीतिमा प्रभाव बढाएका छन् ।

    गत निर्वाचनमा परम्परागत राजनीतिक दलमाथि असन्तुष्टिको संगठित विस्फोटका रूपमा उदाएका लामिछानेको राजनीतिक थप विस्तार हुने देखिएको बिश्लेषकहरु बताउँछन् । त्यसको फैसला भने २१ फागुनमा मतदाताले दिनेछन् ।

    टेलिभिजन पत्रकारितामार्फत भ्रष्टाचार, सत्ता दुरुपयोग र पीडितका मुद्दा उठाइरहेका लामिछाने २०७९ को चुनावको चार महिनाअगाडि रास्वपा गठन गरेर राजनीतिमा प्रवेश गरेका हुन् ।

    नयाँ वैकल्पिक शक्तिहरू उनी वरिपरि आकर्षित हुनुलाई उनको सफलतासँग जोडेर हेरिएको छ । लामिछानेको यस्तो उदयले राजनीतिलाई जनमुखी बनाउने दबाब सिर्जना गरेको छ ।

    तर व्यक्ति केन्द्रित राजनीति संस्थागत नहुँदा दीर्घकालीन स्थायित्व कमजोर हुन सक्छ । नीति, वैचारिक स्पष्टता र संगठन विस्तारमा चुक्दा राजनीतिक उदय क्षणिक पनि हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images