images
images
  • नयाँ दलबीच भएको एकताले पुरानामा त्रास, कांग्रेस र एमालेबीच पनि चुनावी तालमेलको संकेत

    काठमाडौं– पार्टीको १५औं महाधिवेशनबारे अनिर्णयको बन्दी बनेको नेपाली कांग्रेसले विघटित प्रतिनिधि सभाको अर्को ठुलो दल नेकपा एमालेसँगको चुनावी तालमेलको गृहकार्य थालेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यसबारे अनौपचारिक संवाद अघि बढेको निकटस्थ स्रोतको दाबी छ ।

    एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले मंगलबार सार्वजनिक कार्यक्रममै लोकतन्त्र पुर्नस्थापनाका लागि दुई दल मिलेर जानुपर्ने बताएपछि परम्परागत प्रतिस्पर्धी दलबीच गुपचुपमा भइरहेको संवादले औपचारिकता पाएको हो ।

    नेताहरूले औपचारिक छलफलमा नल्याइएकाले दोस्रो र तेस्रो तहका नेताहरूले यसबारे खुलेर बोलेका छैनन् । मुलुकको तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको चलखेल बढ्दै गएको र वर्तमान संविधानसहितको व्यवस्था नै कोल्याप्स गर्न खोजेको दाबी कांग्रेस–एमालेको छ ।

    ‘संविधान र व्यवस्थाका पक्षधर राजनीतिक दलहरू मुलुकको स्वाधीनताको रक्षाका लागि चुुनावी एकतामा जानुपर्ने विषयमा दलबीच आन्तरिक छलफल सुरु भएको छ,’ एमाले पदाधिकारीले भने, ‘चुनावको पूर्वसन्ध्यामा विभिन्न विकल्पबारे कुरा हुनु स्वाभाविक हो । कांग्रेस–एमाले तालमेलको विषय औपचारिक छलफलमा ल्याइएको छैन ।’

    पूर्वगृहमन्त्रीसमेत रहेका बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने संकेत गरेका छन् ।

    मदन–आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष ओलीको अगाडि उनले मुलुक संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमालेले मोर्चाबन्दी कसेर अघि बढ्नुपर्ने बताएका हुन् ।

    ‘कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्र्थापना गर्न सक्छौं । त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौं भने हामीले लोकतन्त्रलाई फेरि पुनस्र्थापना गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधीनता र अस्तित्व हामी टिकाउन सक्छौं ।’

    सोही कार्यक्रममा कांग्रेस नेता मीन विश्वकर्माले पनि सहकार्यमै जोड दिएका थिए । उनले कांग्रेस–एमाले २०४६ सालदेखिका सहयात्री भएकाले लोकतन्त्रका लागि एक ठाउँ उभिने बताएर सहकार्यको सम्भावनाको संकेत गरेका थिए ।

    नेताहरूको पछिल्लो अभिव्यक्ति र देउवा–ओलीबीचको निरन्तर संवादले केही दिनमै कांग्रेस–एमालेबीचको चुनावी तालमेलले औपचारिकता पाउने संकेत देखिएको छ ।

    जेनजी आन्दोलनबाट भागाभाग भएका पुराना दललाई रोक्नका लागि नयाँ दल तथा समूहबीच भएको एकताले झस्काइदिएका छन् । निर्वाचनमा आफ्नो शक्ति बचाइराख्न पनि तालमेल गर्नुपर्ने बहस दलहरूभित्र सुरु भएको छ ।

    संसद् पुर्नस्थापना भए संसदबाटै मुलुकको निकास खोज्ने र निर्वाचनमै जाने स्थिति निर्माण भएको खण्डमा पुुरानो हैसियतअनुसार प्रत्यक्षमा सिट बाँडफाँट गरेर जान अनौपचारिक कुराकानी अघि बढेको कांग्रेसका एक पदाधिकारीले स्वीकारे ।

    ‘अहिलेको परिस्थिति हेरेर कांग्रेस–एमालेबीच चुनावी तालमेल हुन सक्ने छलफल अघि बढेका छन्,’ उनले भने । अनौपचारिक छलफलमा कांग्रेस–एमालेबीच आधाआधा सिट बाँडफाँट हुने सम्भावना रहेको ती नेता बताउँछन् ।

    कांग्रेस नेता डा। शेखर कोइरालाले पनि मंगलबार देशमा विदेशी शक्तिको चलखेल भइरहेको बताएका थिए । ‘हाम्रो देशसँग विदेशीहरूको चासो र चिन्ता छ,’ उनले भने, ‘उत्तर र दक्षिणमा हाम्रा दुुईवटा शक्तिशाली छिमेकी छन् । विश्वको सबैभन्दा ठुलो देशको पनि चलखेल छ । संसद् पुनस्र्थापना गरेर संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको कुरा आइरहेकोमा यसमा विदेशीहरूकै चलखेल स्वाभाविक देखिन्छ ।’

    पुराना दलहरूलाई निषेध गरेर मुलुकको समस्या समाधान नहुने उनी बताउँछन् । नयाँ दल र शक्तिहरूको एकताले राजनीतिमा ल्याएको तरंग आइरहेका बेला हार्ने डरले कांग्रेस चुनावबाट पछि नहट्ने नेता कोइरालाले बताएका छन् । तर एमालेसँगको चुनावी तालमेलमा भने उनी सहमत देखिँदैनन् ।

    त्यसो त कांग्रेसले गत वर्ष भएको महासमिति भेलाबाटै निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । तर पछिल्लो जेनजी आन्दोलनपछिको परिस्थित हेरेर आवश्यक निर्णय लिनुपर्ने संस्थापन पक्षका नेताहरूको भनाइ छ ।

    एमाले पनि यसका सहमत छ । एमाले नेता महेश बतौंलाले कांग्रेस–एमालेबीचको चुनावी तालमेलको औपचारिक छलफल नभएको दाबी गरे । उनले भने, ‘यस विषयमा औपचारिक छलफल भएको छैन । तर संविधान र व्यवस्थाका पक्षधर राजनीतिक दल मुलुकको स्वाधीनताको रक्षाका लागि एकठाउँ उभिएर राजनीतिक निकास दिनुपर्ने अवस्था आएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images