images
images
  • नेपोबेबीबिरुद्ध भएको जेनजी आन्दोलनबाट कसैले सिकेनन् पाठ, समानुपातिक उम्मेदवारमा नेपोटिजमनै हाबी

    काठमाडौं– प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको उम्मेदवारको नामावली धमाधम सार्वजनिक हुने क्रममा छ ।

    आयोगमा सोमबार रातिसम्म समानुपातिकतर्फ बन्दुसूची बुझाएका दल र तिनका उम्मेदवारको नामावलीमा समानुपातिक प्रणाली र व्यवस्थाकै बदनाम देखिएको छ ।

    जातीय, लैंगिक तथा भौगोलिक हिसाबले पछाडि पारिएको वर्ग र समुदायका लागि व्यवस्था गरिएको आरक्षण र समानुपातिक प्रतिनिधित्वको प्रणालीमा पहुँचवाला र चर्चितकै हालीमुहालीले गर्दा व्यवस्थाकै बदनाम भएकोमा चिन्ता व्यक्त गरिन थालिएको छ ।

    गणतन्त्र, समावेशिता र समानुपातिक व्यवस्थासहितको गणतन्त्रान्त्रिक व्यवस्था सुनिश्चित गर्ने संविधानको भावनाको धज्जी उड्नेगरी व्यापारी, सेलीब्रेटीदेखि नेताका आफन्त र आसेपासेले सम्भावित सांसदको रूपरेखा पाइएको छ । समानुपातिक प्रणाली व्यवस्थापछिको तेस्रो निर्वाचन हुँदैगर्दा यस हदसम्मको दुरुपयोगले व्यवस्थाकै बदनाम भएको विश्लेषकको टिप्पणी छ ।

    नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा र नयाँ दलमा पनि ‘नेपो बेबी’कै दबदबा देखिएको छ ।

    पुराना दलले विगतमा समानुपातिक प्रणालीमार्फत संसद्मा गराएको उपस्थिति विषयमा आलोचना गर्दै नयाँ राजनीतिक प्रयोगको वकालत गर्दै आएका दलबाट पनि उस्तै विकृति विसंगतिलाई प्रश्रय दिएकोमा व्यापक टिप्पणी भएको छ ।

    आगामी २१ फागुनमा हुने निर्वाचनमा ६४ राजनीतिक दलले ५८ चुनाव चिह्नबाट समानुपातिकतर्फ प्रतिस्पर्धा गर्ने भएका छन् । तोकिएको १३ र १४ पुसको अवधिमा आयोगमा पेस भएका आधारमा सूची अन्तिम तयारी भएको निर्वाचन आयोगले जनाएको छ ।

    प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित हुने २ सय ७५ सदस्यीय संसद्मा १ सय १० जना समानुपातिक प्रणालीतर्फबाट निर्वाचित हुने छन् ।

    पिछडिएकाको नाम, आफन्तको लाम
    लैंगिक, जातीय तथा क्षेत्रीय हिसावले पिछडिएकाको कोटमा नेताले आफन्तको लाइन लगाएको यसपटक पनि देखिएको छ ।

    पुराना दलले समानुपातिकका नाममा विकृति भित्र्याएको आरोप लगाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताका आफन्तदेखि निकटस्थको लामो लाइन समानुपातिकमा पठाएको छ ।

    समानुपातिकमा नाम पेस गर्ने दिन सोमबार साँझमात्रै सम्झौता गरी रास्वपामा मिसिएका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले आफ्ना भान्जादेखि ससुरा र ससुरालीतर्फका आफन्तको लाइन बुझाएका छन् ।

    घिसिङले साविक पार्टीका कुनै पनि संयन्त्रमा छलफल नै नगरी एकल तजबिजमा छानेका नाममा घिसिङका भान्जा राम लामा पहिलो नम्बरमा छन् । जनजाति क्लस्टरमै रहेका धर्मलाल तामाङ कुलमानका ससुरालीतर्फका आफन्त हुन् ।

    कहिले माओवादी र कहिले एकीकृत समाजवादीमा लाग्दै कुलमानसँग व्यावसायिक साझेदारी गर्दै आएका दुर्गाबहादुर सुवेदी पनि कुलमानका व्यक्तिगत प्रभावका व्यक्ति हुन् ।

    रास्वपा सभापति रवि लामिछानेले पनि पिछडिएको वर्ग, दलित, जनजाति तथा खसआर्यसमेत सबै क्लस्टरबाट चितवनका आफूनिकटकालाई मात्र समानुपातिक सूचीमा राखेको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि छ ।

    दलित भएकै कारण हेपिएकाको समेत संसद्मा प्रतिनिधित्व गराउन व्यवस्था गरिएको समानुपातिक व्यवस्थाको खिल्ली उडाउँदै सेलीब्रेटीदेखि व्यवसायीलाई ल्याएको छ ।

    चर्चित गायक प्रकाश सपुतदेखि टेलिभिजन होस्ट रिमा विश्वकर्मालाई दलित कोटाबाट समानुपातिकमा राखिएको छ । विभिन्न दातृ निकयका परियोजना सञ्चालनदेखि राजनीतिक नियुक्ति र पूर्वपत्रकाकार प्रकाशचन्द्र परियारसमेत समेटिएका छन् ।

    सामाजिक सञ्जालमा धेरै फलोअर भएका र मास मेनिपुलेसन गर्नसक्ने मोटिभेसनल स्पिकरलाई रास्वपाले समानुपातिक सूचीमा राखेको पाइएको छ । उत्पीडित जनजाति समेटेर संसद्मा लैजाने क्लस्टरबाट क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि आईएनजीओका व्यक्तिसमेत समेटिएका छन् ।

    त्यस्तै, व्यापारी व्यवसायीलाई पनि उस्तै जोड दिइएको पाइएको छ । उद्योग वाणिज्य संघ अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालदेखि गोल्डस्टार जुत्ताको म्यानुफ्याक्चर्स कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा समानुपातिकमा परेका छन् ।

    रास्वपामा चितवनबाट मात्र २१ जना
    रास्वपा सभापति रवि लामिछानेको गृहजिल्ला चितवनबाट ९ महिलासहित २१ जना समानुपातिक सूचीमा परेका छन् । सभापतिको जिल्लाबाट २१ जनाको नाम समावेश भएपछि दुर्गम जिल्लाका पार्टी नेता–कार्यकर्ता आश्चर्यचकित भएका छन् ।

    तीन समूहमा गरी १ सय १० जनाको नामावली बुझाएको रास्वपाले चितवनकै २१ जनालाई सूचीमा समेटेको हो । आदिवासी जनजातिमा ५ र खसआर्यमा १६ जनाको नाम समावेश छन् । डा.मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा, सुदेश गुरुङ, सचिन ढकाल र सुदीप ढकाल, गोविन्द नारायण, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टिकाराम दाहाल, विदुषी राणा, श्रद्धा कुँवर, रचना खतिवडा क्षेत्री, मञ्जु भुषाल, सिर्जना वली, सितादेवी पाण्डे, सरला लामिछाने, प्रभा ढकाल यस क्षेत्रबाट समेटिएका छन् ।

    ‘नेपोबेबी’कै वर्चस्व
    नेताका छोराछोरीलाई समानुपातिकदेखि सुविधामा पहुँच दिने व्यवस्था भन्दै जेनजी आन्दोलनका बेला चलाइएको ‘नेपोबेबी ट्रेन्ड’बाट कसैले पनि पाठ नसिकेको संकेत समानुपातिकले झल्काएको छ ।

    समानुपातिकतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल पोखरेल र पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा.चन्द्रमोहन यादवलाई समानुपातिकमा अवसर दिइएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालले समानुपातिकतर्फ ‘जेनजी’का रूपमा अवसर पाएका छन् ।

    ओलीको जिल्लाबासी ९ जना
    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको जिल्लाबासी ९ जनालाई समानुपातिक सूचीमा समेटेको छ । पार्टीभित्र समावेशिताको खिल्ली उडाएको आलोचना खेपिरहेका ओलीले समेटेकामा भने नयाँलाई अवसर दिएका छन् । झापाबाट मेनुका काफ्ले, अनिता कन्दङ्वा, निता घतानी, निर्मला पाठक, विद्यानन्द राजवंशी, सोम पोर्तेल, विनाकुमारी शाह, लता प्रसाई र जितु गौतम दर्जी समानुपातिक उम्मेदवारको सूचीमा परेका हुन् ।

    पुराना दलमा नयाँलाई अवसर
    समानुपातिक प्रणालीतर्फबाट उम्मेदवार बन्न ‘पुराना’ भनिएका दलले भने नयाँलाई अवसर दिएको देखिएको छ । नेपाली कांग्रेसमा चार चर्चित नेताबाहेक नयाँलाई अवसर दिइएको पार्टीले जनाएको छ । अर्जुननरसिंह केसी, गोपालमान सिंह, भिमसेनदास प्रधान र भिष्मराज आङदेङवेबाहेक सबै नयाँलाई अवसर दिइएको बताइएको छ । कांग्रेसले २०६४ देखि २०७९ सालसम्म समानुपातिकमा नरहेकालाई यसपाली समानुपातिकमा राखिएको पार्टीले जनाएको छ ।

    नेपाली कम्युनिस्ट पार्टीले पनि समानुपातिकमा नयाँलाई अवसर दिएको जनाएको छ । सो पार्टीका अग्रज नेता प्रमेश हमालबाहेक अरु नयाँ उम्मेदवार परेका छन् । हमाल अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि एकीकृत समाजवादीबाट ‘खसआर्य समूह क्लष्टर’को १ नम्बरमा सिफारिस भएका थिए । पार्टीले ‘थ्रेसहोल्ड’ नकटाएपछि सांसद बन्न नपाएका उनी यसपटक पनि १ नम्बरमा नै समेटिएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिकमा नयाँलाई अवसर दिएको बताएको छ । २०६४ देखि २०७९ सालसम्म लाभका पदमा नरहेकालाई समानुपातिक सूचीमा राखिएको पार्टीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images