काठमाडौं– पुसको अन्तिमका लागि निर्धारित कांग्रेसको १५औँ महाधिवेशन सर्ने करिब निश्चित भएको छ।
क्रियाशिल सदस्यताको छिनोफानो तोकिएको कार्यतालिका भित्र नहुने भएपछि महाधिवेशन पनि सर्ने अवस्था सिर्जना भएको हो।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले क्रियाशीलको काम समयमै नसकिने ब्रिफिङ गरे भने नेताहरुले पनि महासधवेशनको कार्यतालिका नै संशोधन गर्न सुझाव दिएको प्रवक्ता प्रकाशरण महतले जानकारी दिए।
पुस २६ देखि २८ गते १५औँ महाधिवेशनको कार्यतालिका छ। त्यसका लागि क्रियाशील सदस्यता टुंग्याएर पुस १६ गतेमा वडा अधिवेशन गर्ने कार्यतालिका छ । तर पुस १६ अघि क्रियाशील सदस्यता टुंगिने सम्भावना करिब सकिएको छ। त्यस्तो अवस्थामा महाधिवेशनको कार्यतालिका हेरफेर हुने भएको हो।
बुधबारको बैठकमा बोल्ने अधिकाशं सदस्यहरुले महाधिवेशनको कार्यतालिका व्यवहारिक बनाउनुपर्ने माग राखेको बताइएको छ। महामन्त्री थापाले वडा र क्षेत्रिय अधिवेशनपछि सिधै केन्द्रिय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।
बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको समानुपातिकतर्फको उम्मेदवारको सूचिको कार्य अगाडि बढाउने काम सँगसँगै परेकाले निर्धारिता मितिमा महाधिवेशन हुनेप्रति संशय व्यक्त गरेका थिए।
‘बैठकमा पार्टीको महाधिवशन र क्रियाशील सदस्यताको सम्बन्धमा महामन्त्रीज्यूले ब्रिफिङ गर्नुभयो । समग्रमा कार्यवाहक सभापतिले निर्वाचनका सम्बन्धमा समानुपातिक सूचि पेस गर्नुपर्ने कुरा, राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको सूचि तयार गर्नुपर्ने कुराहरु राख्नुभयो, महतले भने।
बैठक बिहीबार १ बजे पुन बस्ने छ। बैठकमा समानुपाति उम्मेदवार र राष्ट्रिय सभा सदस्यका उम्मेदवारको टुंगो लगाउने विषयमा पनि छलफल हुनेछ।























