काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भर्ती हुने ‘निर्वाचन प्रहरी’ले ४० दिनमा ८३ हजारसम्म तलब–सुविधा पाउने भएका छन् ।
दुर्गममा खटिने हरेक ‘निर्वाचन प्रहरी’का लागि तलबसहित पोसाक, खाद्यान्न, भ्रमण, स्थानीय र विविध भत्तामा ८३ हजार २४१ रुपैयाँ उपलब्ध गराउन नेपाल प्रहरीले सरकारलाई प्रस्ताव गरेको छ ।
प्रस्तावअनुसार सुगम क्षेत्रमा खटिने निर्वाचन प्रहरीलाई भने ५४ हजार ३६८ रुपैयाँ दिने उल्लेख छ ।
प्रहरीले समग्रमा निर्वाचन प्रहरीका लागि नौ अर्ब १५ करोड बजेट माग गरेको छ । निर्वाचन प्रयोजनार्थ एक लाख ४० हजार निर्वाचन प्रहरी भर्ती गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयमा यसअघि नै गरिसकेको छ ।
तर, गृहले एक लाख ३६ हजार ९७७ जना मात्रै भर्ती गरे पुग्ने बताउँदै आएको छ । प्रस्तावित बजेट र तलब–भत्ताको वर्गीकृत विवरण सोही प्रयोजनका लागि हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले निर्वाचन प्रयोजनार्थ खटिने ‘निर्वाचन प्रहरी’लाई ५४ हजारदेखि ८३ हजारसम्म तलब–सुविधा उपलब्ध गराउनुपर्ने प्रस्ताव सरकारलाई गरिएको बताए । उनले भने, ‘हामीले सरकारसँग एक लाख ४० हजार निर्वाचन प्रहरी भर्ती गर्नुपर्ने प्रस्ताव गरेका थियौँ । अहिले एक लाख ३६ हजार ९७७ मात्रै भर्ती गरे पुग्ने भन्ने कुरा आएको छ । उनीहरूका लागि तलबदेखि अन्य भत्तासहित न्यूनतम ५४ हजारदेखि अधिकतम ८३ हजार रुपैयाँसम्म खर्च हुने हाम्रो विश्लेषण छ । त्यसैअनुसार एकमुस्ट बजेट माग गरेका छौँ ।’
प्रहरीका अनुसार निर्धारण गरिएको न्यूनतम ५४ हजारदेखि अधिकतम ८३ हजार रुपैयाँसम्मको खर्च सिलिङभित्र ४० दिनको तलबसहित पोसाक, खाद्यान्न, भ्रमण, स्थानीय र विविध भत्ताबापतको रकममा पर्छ । ‘निर्वाचन प्रहरी’को दर्जा जवानसरहको हुन्छ । निर्वाचन प्रयोजनार्थ उनीहरू ४० दिन फिल्डमा खटिनेछन् र त्यसै अवधिको तलब–सुविधा प्राप्त गर्नेछन् ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकाभित्र खटिने ‘निर्वाचन प्रहरी’ले सबैभन्दा कम र जुम्लामा खटिने ‘निर्वाचन प्रहरी’ले सबैभन्दा धेरै सुविधा प्राप्त गर्नेछन् । काठमाडौं उपत्यकाभित्र खटिनेले तलब र अन्य सुविधासहित ५४ हजार ३६८ रुपैयाँ मात्रै प्राप्त गर्नेछन् । जुम्लामा खटिनेले भने ८३ हजार २४१ रुपैयाँ पाउनेछन् ।
त्यस्तै, तराईका जिल्लामा खटिनेका लागि तलब–सुविधासहित ५५ हजार ६६६ खर्च हुनेछ । तराईको पनि झापामा खटिनेले भने काठमाडौंसरह ५४ हजार ३६८ मात्रै पाउँछन् ।
पहाडी क्षेत्रका जिल्लामा खटिनेहरूका लागि तलब र अन्य सुविधासहित ५८ हजार ७८५ रुपैयाँ खर्च गरिनेछ । तर, पहाडी जिल्लाका पनि सहरी क्षेत्रमा खटिनेहरूले ५६ हजार ९७१ रुपैयाँबराबरको मात्रै तलब–सुविधा प्राप्त गर्नेछन् ।
हिमाली क्षेत्रका जिल्लामा खटिने निर्वाचन प्रहरीका लागि भने तलब र अन्य सुविधासहित ६४ हजार ६०८ रुपैयाँ खर्च गरिनेछ । तर, उक्त क्षेत्रको पनि विकट क्षेत्रमा खटिनेहरूलाई तलब र अन्य सुविधासहित ८३ हजार २४१ रुपैयाँ खर्च गरिने प्रहरीले जनाएको छ ।
प्रहरीका लागि तराई क्षेत्रका जिल्लामा खटिने निर्वाचन प्रहरीका लागि ६.१७० पाउन्ड (२.७९८ किलो) बराबरको लत्तारकपडा उपलब्ध हुनेछ ।
हिमाली क्षेत्रका जिल्लामा खटिनेहरूका लागि ११ पाउन्ड (४.९८९ किलो) बराबरको लत्तारकपडा उपलब्ध हुनेछ ।
त्यस्तै, सुगम क्षेत्रमा खटिने निर्वाचन प्रहरीले रासनबराबर सात हजार र दुर्गम क्षेत्रमा खटिनेहरूले २७ हजार रुपैयाँ भत्ता प्राप्त गर्नेछन् ।
स्थानीय भत्ता भने हिमाल र पहाडी क्षेत्रमा खटिनेहरूले मात्रै प्राप्त गर्नेछन् । जसका लागि एक हजार ३४४ रुपैयाँ खर्च हुने भनिएको छ ।
त्यस्तै, भ्रमण भत्ता भने सबैले प्राप्त गर्नेछन् । जसका लागि दुई हजार रुपैयाँ खर्च हुने भनिएको छ ।























