काठमाडौं– सिन्धुलीमा पेट्रोल छर्की आगजनी गरी बुहारीको हत्या गरेको आरोपमा प्रहरीले सासू र नन्दलाई पक्राउ गरेको छ।
कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको हत्या भएको हो। आइतबार अपराह्न साढे ४ बजेतिर घिसिङको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। पक्राउ पर्नेमा ५९ वर्षीया मायारानी बमजन र नन्द ३५ वर्षीया मिना बमजन छन्।
मृतकका माइती पक्षले उनीहरूसँगै ६५ वर्षीय ससुरा दुर्गामान बमजनविरूद्ध पनि किटानी जाहेरी दिएका छन्। प्रहरीका अनुसार आगजनीले दुर्गामान पनि घाइते छन्। उनले निभाउन जाँदा घाइते भएको भनेपनि वास्तविकता के हो भनेर प्रहरीले अनुसन्धान गर्ने बताइएको छ ।
मृतक मिनाका श्रीमान कोरियामा छन्। उनीहरूबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको थियो। आइतबार भने सुशीलाको शव पेट्रोल छर्केर आगजनी गरेको अवस्थामा भेटिएको हो।
पेट्रोलसहित दुई जनालाई पक्राउ गरेका र घाइते ससुराको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुशीलाको शव पोष्टमर्टमको लागि जिल्ला अस्पताल सिन्धुलीमा राखिएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयले मृतक परिवारलाई न्याय दिनुपर्ने र अपराधीलाई कारबाही गर्नुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको गेट अगाडि नाराबाजी गरिरहेका छन्। घरायसी विवाद, सासू र नन्द, बुहारी, पेट्रोल छर्की, आगो लगाएर, हत्या























