काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै निर्वाचन प्रहरी भर्ना गर्ने भएका छन् ।
हरेक निर्वाचनमा नेपाल प्रहरीले मात्रै निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्दै आएकोमा यस पटक भने सशस्त्र प्रहरीले पनि भर्ना लिन लागेको हो ।
निर्वाचनका लागि करिब १ लाख ४५ हजार निर्वाचन प्रहरी आवश्यक रहेको सुरक्षा संयन्त्रको निष्कर्ष छ । जसमा नेपाल प्रहरीले करिब १ लाख ३० हजार र सशस्त्रले १५ हजार निर्वाचन प्रहरी भर्ना गर्नेछन् ।
गृह मन्त्रालयका अनुसार एकीकृत सुरक्षा योजना, २०८२ मै दुवै संगठनले निर्वाचन प्रहरी भर्ना गर्ने उल्लेख छ । केही दिनभित्रै भर्ना प्रक्रिया सुरु गर्ने मन्त्रालयको तयारी छ । निर्वाचन प्रहरी भर्ना गर्दा जुन निकायले भर्ना लिएका छन्, त्यसको सम्पूर्ण खटनपटन त्यही निकायबाट हुनेछ ।
निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहनेछ । सुरक्षा संगठनहरूले उम्मेदवार, मतदाता, राजनीतिक दलका नेता, महत्वपूर्ण व्यक्ति, निर्वाचन पर्यवेक्षक, सञ्चारकर्मी, चुनाव प्रचारप्रसार र विजय जुलुसको सुरक्षा व्यवस्थापनमा सुरक्षा चुनौती हुन सक्ने भन्दै यसका लागि विभिन्न रणनीति तय गरेका छन् ।























