images
images
  • पार्टीको जिम्मेवारीमा फर्किएसँगै रवि लामिछानेले चुनावमा भिड्न कांग्रेस–एमालेलाई दिए चुनौती

    काठमाडौं– आठ महिनापछि पुनः कार्यकारी जिम्मेवारीमा फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठुला दललाई चुनौती दिएका छन् । उनले चुनाव बिथोल्ने षड्यन्त्र नगरी चुनावी मैदानमा आएर प्रतिस्पर्धा गर्न चुनौती दिइका हुन् । बताएका छन् ।

    २२ चैतमा पुर्पक्षका लागि थुनामा परेपछि उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेका लामिछाने न्यायिक आदेशपछि शुक्रबार थुनामुक्त भएका थिए । त्यसको दुई दिनमै आइतबार उनी औपचारिक रूपमा पार्टी नेतृत्वमा फर्किएका हुन् । लामिछानेलाई नेता–कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा बाजागाजासहित स्वागत गरेका थिए ।

    लामिछानेले भने, ‘म पार्टीको जिम्मेवारीमा फर्केको छु । मैले न्याय पाउन बाँकी छ । न्यायमा लडिरहनेछु । मैले आफ्नो न्यायका लागि त लड्नु छँदै छ, तर त्योभन्दा धेरै सिंगो देशका लागि भएको अन्यायका लागि लड्नु महत्वपूर्ण छ । मलाई यहाँहरूको साथको आवश्यकता छ,’।

    लामिछानेले नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावनालाई आफूले बुझेको बताएका छन् । ‘पार्टीमा समावेश भएर हाम्रो अभियानलाई महाअभियान बनाउन देश–विदेशमा भएका नेपाली एकजुट हुनुहुँदै छ । विभिन्न ठाउँबाट उदाउनुभएका नयाँ शक्तिहरू एक ठाउँमा आएर परिवर्तन गर्नुपर्छ भन्ने भावना पनि मैले बुझेको छु,’ उनले भने, ‘मैले कारागारबाट र आफ्ना राजनीतिक प्रतिवेदनबाट पनि भनेको थिएँ– परिवर्तनको यात्रामा एउटा पुस्तालाई न्याय दिने र इतिहास लेखिने कुरामा रास्वपा सँगै छ । विभिन्न भेटघाट निरन्तर चलिरहेका छन् । परिवर्तन संस्थागत बनोस्, स्थायी बनोस् र पछिसम्मका लागि परिवर्तन गर्न सक्ने पार्टी बनोस् भन्ने हाम्रो चाहना हो ।’

    आफूलाई भए–भरका राज्य संयन्त्र एकजुट भएर एक्ल्याउन खोजेको भन्दै लामिछानेले जनताको तागतका अगाडि कसैको केही नचल्ने र मुलुकको संकटमा जिम्मेवारीपूर्वक अघि बढ्ने बताए । आजसम्म सत्य नहारेको भन्दै लामिछानेले जिल्लैपिच्छे मुद्दा लगाउँदा, कारागारमा जाँदा, मध्यरातमा गिरफ्तार गर्दा, कुनै धम्की आउँदा पनि सत्य नहार्ने विश्वास आफूले नछाडेको बताए । ‘मसँग एक मुठ्ठी सासबाहेक केही पनि बाँकी छैन । तर, मलाई के थाहा छ भने सत्यको साथ र सत्यको साहस भयो भने बाँकी केही चिज चाहिँदा पनि चाहिँदैन,’ उनले भने ।

    लामिछानेले प्रतिशोधविरुद्धको लडाइँमा साथ दिएका आमजनतालाई धन्यवाद दिए । ‘विशेषगरी हस्ताक्षर अभियानमा अन्याय परेको कुरालाई अनुमोदन गरी ४० लाख जनताले एकै स्वरमा तपाईं एक्लो हुनुहुन्न भनेर मलाई भन्नुभयो, म त्यसका लागि ऋणी रहनेछु,’ उनले भने ।

    जिम्मेवारीमा फर्केसँगै लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक बसेको छ । बैठकमा लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीलाई संगठित र अनुशासित रूपमा सम्हालेकोमा नेताहरूलाई धन्यवाद दिएका थिए । ‘हामी अहिले उत्साहित हुन सक्छौँ, तर उत्सव मनाउने वेला होइन । अझै धेरै संघर्ष बाँकी छ र धेरै जिम्मेवारी बाँकी छ,’ उनले भने । लामिछानेले पार्टीको विभिन्न जिम्मेवारीमा रहेका सबैलाई संयमित र अनुशासित हुन अनुरोध गरेका थिए ।

    संसद् पुनर्स्थापनाको षड्यन्त्र नगर्न कांग्रेस–एमालेलाई चेतावनी

    सभापति लामिछानेले संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर अभियान चलाइरहेका कांग्रेस–एमालेलाई षड्यन्त्र नगर्न चेतावनी दिए । ‘केही मानिसहरू संसद् पुनर्स्थापनाका लागि दौडधुप गर्न थालेका छन् रे । तपाईंहरूले कुन संसद् ब्युँताउन खोज्नुभएको ? दुईतिहाइको दम्भ राखेर नेपाली जनतालाई बेच्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ?’ उनले प्रश्न उठाए, ‘जनताका मुद्दा बोल्दाबोल्दै माइक काट्ने संसद् फेरि ब्युँताउन खोज्नुभएको ? भ्रष्टाचारका काण्डमा छानबिन गर भनेर आवाज उठाउँदा छानबिन होइन संख्याको बलमा सामसुम पार्न खोज्ने संसद् ब्युँताउन खोज्नुभएको ? ’

    लामिछानेले कांग्रेस–एमालेको दुईतिहाइले युवाहरूको रगतमा खेलेको नबिर्सिने पनि बताए । ‘चुनावसम्म मात्र होइन, त्यसपछि पनि बिर्सन नहुने एउटा कुरा बताउँछु– यिनीहरूले कलिला केटाकेटीको रगत पिएका छन्, यो हामी बिर्सन सक्दैनौँ । यिनीहरूले ठुला कुरा गर्नु ठिक हुँदैन । म कटाक्षमा गएको छैन, तर खबरदारीको हिसाबले यो कुरा गर्नैपर्ने हुन्छ,’ लामिछानेले भने, ‘संयन्त्र, सरकार, मन्त्री, प्रधानमन्त्री को–को थिए ? उच्चस्तरीय संयन्त्र बनाएर त्यसलाई सघाउने को–को थिए ? तिनीहरू सबैको अनुहारमा केटाकेटीको रगतको छिटा परेको छ । खबरदार । षड्यन्त्रको शृंखला अब बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’

    निर्वाचनको विकल्प छैन

    सभापति लामिछानेले मुलुक कमजोर भएको वेलामा निर्वाचनमा जानुको विकल्प नभएको बताए । सँगै जेनजी पुस्ताले गरेको अपेक्षा पूरा गर्नुको विकल्प नभएको उनको भनाइ थियो । ‘हामीले सरकारलाई भनेका छौँ, जेनजीको माग पूरा गर्ने, सुशासन कायम गर्ने र निर्वाचन गराउने सन्दर्भमा सरकारले म एक्लै छु भन्नुपर्दैन, रास्वपा खडा भएको छ । यसमा हाम्रो कुनै स्वार्थ छैन । जुन उद्देश्यका लागि जेनजी भाइबहिनीले रगत बगाए तिनीहरूको सपना पूरा गर्नैपर्छ,’ उनले भने ।

    लामिछानेले प्रवासमा रहेका नेपाली नागरिकले मताधिकार पाउनुपर्ने पनि बताए । ‘फेरि पनि प्रवासमा रहेका साथीहरूलाई धन्यवाद दिन चाहन्छु । हामी तपाईंको मतदाधिकारका लागि हिजो पनि लड्यौँ । आज पनि लडेका छौँ । तपाईंको नोट चल्ने, भोट नचल्ने भन्ने हुँदैन । तपाईंको भोट चलाउनका निमित्त हामी निरन्तर लागिपरेका छौँ । विदेशमा रहेका सबैले आफ्नो देशको नेतृत्व छान्न पाउनुपर्छ,’ उनले भने ।

    चुनाव बिथोल्न होइन, प्रतिस्पर्धा गर्न एमालेलाई चुनौती

    लामिछानेले एमालेको नामै नलिई उसले निर्वाचन बिथोल्ने प्रयास गरेको आरोप लगाए । साथै उनले चुनावमा भाग लिन पनि चुनौती दिए । ‘भागेका केही शक्ति निर्वाचन बिथोल्नका लागि आफैँ घटना घटाउन लागिरहेका छन् । चारतिर घटना घटाइदिने, आफ्नै मान्छे खटाइदिने अनि वातावरण बिग्रियो, सरकारले सम्हाल्न सकेन भनेर मुन्टो निकाल्न खोज्दै छन्,’ उनले भने, ‘मुन्टो निकाल्न पर्दैन, चुनावको वातावरण बिगार्न पर्दैन । पछाडि हट्ने काम नगर्नुहोस्, बहादुरीका साथ अगाडि आउनहोस् । पार्टीको चुनाव जितेजस्तै आमचुनाव पनि जिते भैगो । तर, चुनाव बिथोल्न पाइँदैन । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images