काठमाडौं– अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्नसक्ने बताएका छन् ।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताएका हुन् ।
मन्त्री पुनले मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र भ्रष्टाचार मौलाउने सम्भावना रहेको बताएका छन् । भ्रष्टाचार हटाउने औषधि बन्न नसक्ने तर योगले मन शुद्ध बनाउने भएकाले भ्रष्टाचार हट्नसक्ने बताए ।
योग ध्यानलाई गाउँगाउँमा पुर्याउनका लागि सबैले प्रयास गर्न पनि आग्रह गरेका छन् । योग, ध्यानको कुरा विद्यालयमा अतिरिक्त क्रियाकलापको माध्यमबाट पुर्याउन आफूले निर्देशन दिइसकेको बताएका छन् ।
योग र ध्यान पढाउने नभई गराउने विषय भएको र विद्यालयमा शुक्रबारको दिनलाई पढाउने नभइ अतिरिक्त क्रियाकलप गर्ने दिनको रुपमा अघि बढाउनेबारे कुरा उठाएको दाबी गरेका छन् ।
उनले भने, ‘मनलाई शुद्ध गर्नु पर्ने ठूलो आवश्यकता छ । मन शुद्ध भएन भने मनमा अनेकौं किसिमका लोभ, लालसा, घमण्ड धेरै चिजहरु बढ्छन् । त्यो बढ्यो भने भ्रष्टाचार मौलाउने एउटा राम्रो माध्यम बन्छ । जति पनि भ्रष्टचारीहरु उनीहरुको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरुमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरु जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो । त्यसको औषधि बनेको पनि छैन। बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रुपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैल्याउन सक्नुपर्छ ।’
त्यसकारण योगलाई टोल–टोलमा पुर्याउन सके भ्रष्टाचार हट्ने सम्भावना हुने उनले बताएका छन् । मन्त्री पुनले ध्यान र योग गर्नु भनेको मनलाई शान्ति र शुद्ध गर्नु रहेको बताएका छन् ।























