काठमाडौं– कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पूर्वसांसदहरूको हस्ताक्षरसहितको पूरक रिट सोमबारसम्म दर्ता गर्ने तयारी गरेको छ । कम्तीमा ६५ जनाको हस्ताक्षर पुर्याएर सर्वोच्च अदालतमा बुझाउन लागिएको हो ।
पार्टीका अनुसार पार्टीले संसद् विघटन असंवैधानिक हो भनिसकेको छ । यसको निरूपण अदालतबाट हुने हुनाले पार्टी निर्णयकै स्पिरिटका आधारमा पूर्वसांसदहरूको हस्ताक्षर संकलन गरेर बुझाउन लागेका हो । हस्ताक्षर संकलन गरेर वकिलहरूलाई दिने बताइएको छ ।
कांग्रेसमा निर्वाचन कि संसद् पुनर्स्थापनामा जाने भन्नेमा विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनको विकल्प नभएको बताउँदै आएको छ ।
तर, सभापति शेरबहादुर देउवा संसद् पुनर्स्थापनाका पक्षमा छन् । उनले संसद् विघटनको आन्तरिक रूपमा विरोध गर्दै त्यसविरुद्ध बोल्न पार्टी नेताहरूलाई भन्दै आएका छन् ।























