काठमाडौं– काठमाडौं उपत्यकामा दैनिक पर्याप्त, स्वच्छ र नियमित खानेपानी आपूर्ति गर्न मेलम्चीको पानी ल्याएको पाँच वर्ष भयो । दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट आउँछ । तर ५० लाख जनसंख्या भएको काठमाडौंमा मेलम्चीको पानी नियमित आपूति हुन सकिरहेको छैन ।
अझै पनि काठमाडौंको व्यस्त सहर र साँघुरा सडकमा पानी पुर्याउन नसकिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
मेलेम्चीको पानी पुगे पनि लिकेजको समस्या छ ।आयोजनाका अनुसार पुरानो पाइप लाइन भएका अधिकांश पाइपहरूमा लिकेजको समस्या छ । साँघुरा एकै गल्लीहरूमा विद्युत्, पानी, ढल र टेलिफोनका तार पनि जोडनुपर्ने भएकाले समस्या देखिएको हो ।
काठमाडौंभित्र एक सय वर्ष पुरानो पाइप प्रणालीका कारण ३० देखि ४० प्रतिशत पानी चुहावट भएर खेर जाने गरेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । हाल मेलम्चीको पानी महाराजगन्ज, बानेश्वर र ललितपुरका केही भागमा मेलम्चीको पानी पुगेको तर नियमित भएको छैन ।
प्रायः ठाउँहरूमा हप्तामा एक दुईपटक मात्र आउने गरेका छन् । आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाडौं आइपुगेको भए पनि मेलम्चीको खानेपानी आयोजना २०७७ साल फागुन २२ गते पहिलोपटक सुन्दरीजलमा ल्याइएको थियो । चैत १५ गते मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा पुगेको थियो ।
मेलम्ची नदीदेखि सुन्दरी जलसम्म २६ दशमलव ५ किमी सुरुङमार्फत उपत्यकामा पानी ल्याएर वितरण भइरहेको छ । नदीमा डाइभर्सन गरेर उपत्यकाको सुन्दरी जलमा प्रशोधन गरेर ट्यांकी, पाइपलाइन प्रणालीबाट वितरण गरिएको छ ।
पानी आपूर्तिको समस्याले नागरिक हैरान छन् । पानीको प्यास मेट्ने आसमा काठमाडौंवासीले चार दशक बिताए । आयोजना बन्यो र पानी पनि आयो । तर पाइप पु¥याउनै नसक्दा कैंयन घरमा पानी पुग्न सकेको छैन । पानी पुगेको ठाउँमा पनि चुहावट समस्याले नागरिक हैरान छन् ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार उपत्यकावासीको पानीको मागलाई पूर्ति गर्न यांग्री र लार्केको पानी पनि मिसाउनुपर्ने हुन्छ । यांग्र्री र लार्के नदी जोड्ने दोस्रो चरणको काम भइरहेको छ ।
त्यसबाट थप १७ करोड लिटर प्रतिदिन क्षमता वृद्धि गर्ने लक्ष्य राखेको आयोजनाले जनाएको छ ।
बढ्दो जनसंख्या र पानीको माग आपूर्ति गर्न दोस्रो चरणमा मेलम्चीको पानीमा यांग्र्री र लार्के खोलाका पानीसमेत मिसाउने योजना २० किलोमिटर टनेल निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । पानीको कुल परिमाणः मेलम्चीको १७ करोडमा यांग्र्री र लार्केको गरी १७÷१७ करोड लिटर जोडेर कुल दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने योजना रहेको बताइएको छ ।























