काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको नारासहित प्रतिस्पर्धामा उत्रिएको ईश्वर पोखरेल समूह नतिजाका हिसाबले निकै कमजोर सावित भएको छ ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा सो समूहबाट एक दर्जनभन्दा कम नेताहरू मात्र अटाउन सफल भएका छन् ।
सार्वजनिक अन्तिम मतपरिणामअनुसार, पोखरेल समूहबाट पदाधिकारीमा केवल दुई जना उम्मेदवारले जित हासिल गरे ।
अध्यक्षमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेल भारी मतान्तरले पराजित हुँदा, उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भए । विष्टले ओली समूहका गुरुराज बराल र भट्टराईले ओलीका विश्वासपात्र विष्णु रिमाललाई पराजित गरेका हुन् ।
एमालेको विधानअनुसार पदाधिकारीका उम्मेदवारहरू स्वतः खुल्ला केन्द्रीय सदस्यको उम्मेदवार मानिन्छन् । पदाधिकारीमा निर्वाचित हुँदा केन्द्रीय सदस्यको मत गणना हुँदैन, तर पराजित भएमा उनीहरूले पाएको मत केन्द्रीय सदस्यका लागि गणना हुन्छ ।
पोखरेल समूहबाट पदाधिकारीमा प्रतिस्पर्धा गरेका १९ जनामध्ये विष्ट र भट्टराईले पदाधिकारी जिते भने ९ जना नेताहरू पदाधिकारीमा हारे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अध्यक्षमा पराजित ईश्वर पोखरेल १०८८ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए ।
त्यस्तै, उपाध्यक्षमा पराजित बिन्दा पाण्डे (११२१ मत) पनि केन्द्रीय सदस्य बनिन् । उपमहासचिवमा पराजित आनन्द पोखरेल (९९७ मत) र सचिवमा पराजितहरू क्रमशः अग्नि खरेल (११३५), कर्ण थापा (१०२६), कृष्णगोपाल श्रेष्ठ (९९४), गोकुल बाँस्कोटा (११९५), ठाकुर गैरे (१२८४) र रचना खड्का (११२४) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।























