काठमाडौं– जेनजी आन्दोलनपछि स्वदेशमा जागिर खाँदादेखि विदेश जाँदासम्म प्रहरी चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) माग हुन थालेको छ ।
आन्दोलनमा ठुलो संख्यामा कैदीबन्दी भागेको र आन्दोलनका नाममा आपराधिक गतिविधिमा संलग्नहरू देखिएपछि पुलिस रिपोर्टको माग बढेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार विगतको तुलनामा अहिले दैनिक प्रहरी रिपोर्टका लागि दोब्बर संख्यामा माग भएको छ । जेनजी आन्दोलनअघि दैनिक औसतमा चार हजारले अनलाइन फर्म भर्ने गरेकामा हाल औसत आठ हजारले भर्ने गरेका छन् ।
प्रहरी रिपोर्टको माग बढेपछि चालचलन शाखामा ३६ कर्मचारी थपेर बिहान ६ बजेदेखि राति १२ बजेसम्म काम लगाएर छिटो सेवा दिने प्रयास भइरहेको प्रधान कार्यालयले जनाएको छ ।
विगतमा अनलाइन आवेदन दिएको तीन दिनभित्र प्रहरी रिपोर्ट पाउने अवस्था थियो । अहिले एक साताभन्दा धेरै लाग्ने गरेको छ । कर्मचारी थपेर छिटो रिपोर्ट दिने प्रयास भइरहेको छ । प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार हाल करिब १८ हजार आवेदन पेन्डिङमा छन् । आवेदनको संख्या नघटेकाले अहिले पुलिस रिपोर्ट पाउन कम्तीमा एक साता लाग्ने अवस्था छ ।
जेनजी आन्दोलनमा भागेका करिब पाँच हजार कैदीबन्दी अझै फरार छन् । प्र त्यस्तै, आन्दोलनको आवरणमा कतिपय लुटपाटलगायत आपराधिक गतिविधिमा संलग्न थिए । त्यस्ता व्यक्ति नपरून् भनेर नेपालमै धेरै कम्पनीहरूले रोजगारीका लागि प्रहरी रिपोर्ट अनिवार्य गरेका छन् ।
युएईलगायत केही देशले भिसाकै लागि समेत रिपोर्ट माग्न थालेका छन् । युएईको भिसाका लागि पुलिस रिपोर्ट दूतावासले तोकेको निकायबाट प्रमाणीकरणसमेत गर्नुपर्ने बाध्यता छ ।
त्यसका लागि १४ हजार शुल्क तिर्नुपर्ने हुन्छ । कतिपय देशले त क्रेडिट–डेबिट कार्डको नवीकरणका लागि नेपाली नागरिकसँग प्रहरी रिपोर्ट अनिवार्य गर्न थालेका छन् ।
अभद्र व्यवहारलगायत केही सामान्य अपराधमा पक्राउ परेकासम्मले पुलिस रिपोर्ट पाउने गरेका छन् । गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई भने रिपोर्ट नदिने गरेको छ ।
अर्कोतर्फ नाम जुधेकाले पुलिस रिपोर्ट पाउन थप हैरानी व्यहोर्नुपर्ने अवस्था छ । त्यस्तो अवस्थामा प्रहरीले सम्बन्धित अदालतलाई लेखेर विस्तृत विवरण खुलाई विवरण जाँच गरेपछि मात्र रिपोर्ट दिन्छ ।
तर, हाल कतिपय अदालतमा मिसिल जलेकाले यस्तो प्रमाणीकरणमा पनि प्रहरीले समस्या झेलिरहेको छ ।
यस्तो प्रमाणपत्र प्रहरीले नि:शुल्क दिँदै आएको छ ।























