images
images
  • सालनाल सहित झाडीमा नवजात शिशु फेला , आमा पक्राउ

    काठमाडौं– पुसको कठ्याङ्ग्रिने चिसो, बिहानको समय । धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलमा एकान्त खोलाको कुनाबाट अचानक नवजात शिशु रोएको आवाज आयो । खोला किनारको झाडीमा सालनाल समेत नकाटेको अवस्थामा एक शिशु (छोरी) बेवारिसे फालिएको देखेपछि स्थानीय स्तब्ध भए । यो घटना मंगलवार बिहानको हो।

    स्थानीयहरूले तत्कालै प्रहरीलाई खबर गरे। प्रहरीले शिशुको उद्धार गर्‍यो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार बिहान करिब सवा ८ बजेतिर प्रहरी कन्ट्रोलमा खबर आएको थियो । धनगढी–८ को भद्रटोलस्थित खोला किनारमा रहेको खेत र बाँसको झाङ भएको ठाउँ नजिकैबाट बच्चा रोएको आवाज आएको थियो ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार त्यहाँ किनारमा एउटा बच्चा रोइरहेको छ भन्ने आवाज सुनेपछि हामीलाई खबर भयो । त्यहाँ गएर हेर्दा एउटा सानो नवजात शिशु रहिछ । त्यसलाई तत्कालै हामीले सेती प्रादेशिक अस्पतालमा उपचारको लागि पठाएको बताइएको छ ।

    शिशु सालनाल सहित र कपडाले बेरिएको अवस्थामा थिइन् । चिसो भुईँमा फालिएकी ती अबोध शिशुको अवस्था अहिले भने सकुशल रहेको र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    शिशुको उद्धार लगत्तै प्रहरीले आमाको खोजी सुरु गरेको थियो । खोजी गर्दै जाँदा सोही वडाकी २९ वर्षीय राममति रानालाई प्रहरीले पक्राउ गर्‍यो । उनी विवाहित रहेको र श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा रहेको बुझिएको छ । तर, उनले भर्खरै जन्मेको सन्तानलाई किन झाडीमा फालिन् भन्ने कारण भने खुल्न सकेको छैन ।

    प्रहरी निरीक्षक विष्टका अनुसार सुत्केरी अवस्थाकी ती महिला शारीरिक र मानसिक रूपमा निकै कमजोर देखिएकी छिन् । प्रहरीले उनलाई किन शिशु फालेको भनी सोधपुछ गर्न खोजे पनि उनले जवाफ फर्काउन सकेकी छैनन् ।

    प्रहरीका अनुसार ती महिलाको घर परिवारका अन्य सदस्यहरू कोही पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् । श्रीमान् विदेशमा रहेको बताइए पनि घटनापछि उनको हेरचाह वा सोधपुछका लागि आफन्तहरू प्रहरी कार्यालयमा उपस्थित नभएको बुझिएको छ ।

    अहिले शिशु र आमा दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र आमाको स्वास्थ्यमा सुधार आएपछि मात्र शिशु फाल्नुको वास्तविक कारण बाहिर आउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images