images
images
  • एमाले महाधिवेशन : मतदान ४ बजेदेखि, भोलि दिउँसो अन्तिम परिणाम सार्वजनिक हुने

    काठमाडौं– नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।

    महाधिवेशन बन्दसत्र हल भृकुटीमण्डपमा विद्युतीय मेशिनबाट हुने मतदानका लागि आवश्यक तयारी पूरा भएको छ ।

    दिउँसो १ बजेदेखि नै मतदान सुरु हुने भनिएपनि प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले निर्धारित कार्यतालिका सरेको रामलक्ष्मण भोटिङ मेशिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए ।

    पार्टीको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरबाट दुई हजार २६३ जना प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले १९ जना पदाधिकारी, ३०१ जना केन्द्रीय सदस्य र केन्द्रीय निकायका पदाधिकारी गरी ३५१ जना नयाँ नेतृत्व चुनिँदैछन् ।

    चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । दुवै पक्षका गरी करिब सात सयभन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । प्राविधिक पाण्डेका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेशिन राखिएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट समय लाग्ने उनले स्पष्ट पारे ।

    मतदान गर्ने समय लम्बिनुको मुख्य कारण उम्मेदवार धेरै भएको र प्रतिनिधिको साक्षरता भएको पाण्डेले बताए । करिब ४० मिनेटमा ८० जनाले एक पटकमा मतदान गर्न सक्ने भएकाले कम्तीमा १८ घण्टा समय लाग्ने उनको भनाइ छ ।

    पाण्डेका अनुसार एक मेशिन र अर्को मसिनबिच नेटवर्किङ छैन । त्यसले गर्दा प्रत्येक एक एक मेशिनको मत गन्नुपर्छ । सबै मेशिनको मत जोड्दा समय लाग्छ । एउटा मसिनमा आएको कुल सङ्ख्या र अर्को मसिनमा आएको जम्मा सङ्ख्या जोडेर अन्तिम परिणाम सार्वजनिक हुन्छ । त्यसो गर्दा कम्तीमा डेढ दुई र ढिलोमा तीन घण्टा लाग्न सक्छ ।

    मतदान सम्बन्धमा नेतृत्वबाट कुनै रोक्ने आदेश भएन भने आज रातभरीमा मतदान सकिने र भोलि दिउँसोसम्म अन्तिम परिणाम सार्जजनिक हुने पाण्डेले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images