काठमाडौं– गत १७ मंसिरमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणासभामा प्रमुख अतिथिका रूपमा सरकारका मन्त्री कुलमान घिसिङ उपस्थित थिए । अनौपचारिक रूपमा घिसिङ पार्टीकै काममा सक्रिय थिए । पार्टीको कुनै पनि आधिकारिक पदमा उनी छैनन्, तर पार्टीले उनलाई अहिलेसम्म संरक्षकको भूमिकामा राखेको छ । सोहीअनुसार आउँदो प्रतिनिधिसभा चुनावमा आफ्नो पार्टीलाई मुख्य वैकल्पिक दलका रूपमा उभ्याउने तयारीमा कुलमान जुटेका छन् ।
नागरिक सरकारमा रहेको व्यक्ति र निर्वाचन गराउन बनेको सरकारका मन्त्री आफैँ राजनीतिक गतिविधिमा सक्रिय भएको भन्दै विभिन्न राजनीतिक दलहरूले कुलमानको आलोचनासमेत गरिरहेका छन् । सरकारभित्रैबाट पनि कुलमानको आलोचना भइरहेको छ । तर, उनी सरकारमै बसेर उज्यालो नेपाल पार्टीलाई बलियो बनाउने र आउँदो निर्वाचनमा धेरैभन्दा धेरै सिटसहित संसद् प्रवेश गर्ने मुडमा छन् । कुलमानले जेनजी आन्दोलनको माग पूरा गर्ने हो भने वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने बताउँदै पार्टी घोषणासभामा आफू प्रधानमन्त्री बन्ने गरी अघि बढेको बताएका थिए । ‘जनता केन्द्रित भएर काम गरेकाले म यहाँ आइपुगेको हुँ । मतदाताले सही व्यक्तिलाई चुन्न आवश्यक छ । सही समयमा सही व्यक्ति चुन्नुस् । बुढो मानिसले प्रधानमन्त्री चलाउन सक्दैन,’ कुलमानले पार्टीको घोषणासभामा भनेका थिए ।
यस अभिव्यक्तिले नै कुलमानको योजना प्रष्ट हुन्छ । ‘सिस्टम र आइडियोलोजीले मात्र देश बन्दैन, यसका लागि सही व्यक्ति पनि चाहिन्छ । २१ फागुनको चुनाव देशका लागि सुवर्ण अवसर हो,’ आजकल उनी पुगेका हरेक कार्यक्रममा यो सुन्न पाइन्छ । पूर्वी क्षेत्र, मधेस, चितवन तथा पोखराका क्षेत्रहरूमा सडक, पुललगायत पूर्वाधार योजनाको अनुगमनमा सक्रिय उनी अबको केही दिनका लागि पश्चिमी क्षेत्रको यात्रामा छन् । कैलालीको महेन्द्रनगर महाकाली तथा रानीजमरा कुलरिया सिँचाइ आयोजनसँगै हुलाकी राजमार्गको अनुगनमन गरी आज मंगलबार दिनभर उनी कैलालीमा व्यस्त हुँदै छन् । त्यसका लागि उनी सोमबार नै कञ्चनपुर पुगिसकेका छन् ।
सरकारी र पार्टीको काम एकसाथ
२ पुसमा उनले सतीघाट तटबन्ध, भिम्मापुर सिँचाइ, शंकरपुर बोर्डरदेखि कोठियाघाटसम्मको अवलोकन तथा एउटा झोलुंगे पुलको सिशान्याससमेत गर्नेछन् । तर, २ गतेका लागि दौलतपुरस्थित राजापुरमा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ भने ३ गते ठाकुरद्वारामा पार्टी कार्यालय उद्घाटन र पार्टी प्रवेश कार्यक्रम तय भएको छ । नागरिक उन्मुक्तिबाट लुम्बिनी प्रदेशसभा सदस्य रहेका धर्म चौधरी पनि कुलमानसँगै हुनेछन् । उनी हाल नागरिक उन्मुक्तिको सदस्य भए पनि अनौपचारिक रूपमा भने कुलमानलाई प्रधानामन्त्री बनाउने अभियानमा सक्रिय छन् । कुलमानको पार्टीभन्दा पनि कुलमानप्रति सदासयता राख्न रुचाउँछन् ।
‘उहाँ अनुमगनका लागि आउन लाग्नुभएको हो । मेरो निर्वाचन क्षेत्रमा भइरहेका विकास आयोजनाहरूको पनि अनुगमन गर्नुहुनेछ, एउटा झोलुंगे पुलको शिलान्यास पनि छ,’ चौधरीले भने, ‘मलाई यति मात्र जानकारी छ, पार्टीको विषयमा केही जानकारी छैन । त्यो उहाँहरूले नै मिलाउनुभएको होला ।’

पार्टी गतिविधिबारे खुलस्त रूपमा बोल्न हिच्किचाएका उनी स्वयं भने २ गते कुलमानकै पार्टी प्रवेश गर्ने तयारीमा छन् । उज्यालो नेपालको घोषणासभामा उनी पनि अतिथिका रूपमा उपस्थित थिए । स्रोतका अनुसार २ गते प्रदेश सांसद धर्म चौधरीसहित अन्य पार्टीका प्रदेशस्तरका केही उच्च तहका नेतादेखि स्थानीय स्तरका नेतारकार्यकर्ता पनि उज्यालो नेपाल पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ । पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सोम डेमनरौरा अहिले बर्दिया क्षेत्रमा उज्यालो नेपालको प्रचार र विस्तारमा खटिएका छन् । उनी अनुगमनको मेसो पारेर पार्टीको कार्यक्रममा कुलमानलाई अतिथिका रूपमा मात्र बोलाइएको बताउँछन् ।
‘उहाँ अनुमगनकै लागि आउने हो । पद र शक्तिको दुरुपयोग गरेर पार्टीको कार्यक्रममा उपस्थित हुने पक्षमा उहाँ पनि हुनुहुन्न र हामीले पनि त्यसलाई बढावा दिँदैनौँ,’ सोमले भने, ‘यहाँ आएका बेला पार्टीको कार्यक्रमका लागि अतिथिका रूपमा निमन्त्रणा दिएका हौँ । पार्टी प्रवेशको कार्यक्रममा उहाँको उपस्थिति मात्र रहन्छ । प्रवेश अरूले नै गराउने हो ।’
कुलमानमाथि छ नैतिक दबाब !
यसरी कुलमान अनुमगन सँगसँगै पार्टीको काममा समेत सक्रिय भइरहेका छन् । जेनजी आन्दोलनको ६ महिनाअघिसम्म उनी नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक थिए । तर, तत्कालीन सरकारले प्रतिशोधका कारण उनलाई कार्यकारी निर्देशकबाट हटाएको थियो । जेनजी आन्दोलनपछि जेनजी समूहकै रोजाइमा उनी मन्त्री बनेका थिए ।
प्रमुख विकासे मन्त्रालयहरूको नेतृत्व गरिरहेका उनी अहिलेको सन्दर्भमा गृहपछि सबैभन्दा शक्तिशाली मन्त्री पदमा छन् । पुँँजीगत बजेटको अधिकांश हिस्सा उनैमार्फत् सञ्चालन भइरहेको छ ।

सरकारमा मन्त्री भएका व्यक्ति पार्टीमा सक्रिय हुनु र मन्त्रीहरू चुनावी प्रचारमा लाग्न नहुने भन्ने छैन । तर, नागरिक सरकारका रूपमा पदभार ग्रहण गरेका व्यक्ति नै पदको दुरुपयोग गर्दै पार्टी विस्तार र चुनावी प्रचारमा हिँड्दा नैतिक प्रश्न भने उठिरहेको छ । एक अन्तर्वार्तामा प्रधानमन्त्री सुशीला कार्कीले कुलमानको पार्टीलाई ‘बिजुली पार्टी’ भन्दै सांकेतिक रूपमा असन्तुष्टि जनाएकी थिइन्् । स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाल पनि कुलमानको राजनीतिक गतिविधिमा सन्तुष्ट छैनन् ।
राजनीतिक विश्लेषक एवं कांग्रेस नेता लोकेश ढकाल भने सत्तामा भएको व्यक्ति चुनाव लड्न नपाउने भन्ने नरहेको र उनले राजनीतिक गतिविधि गर्दा विरोध गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । ‘नागरिक सरकार भएका नाताले मन्त्रीका रूपमा कुलमानले नैतिकता लिने भन्ने विषय हुन सक्छ । तर, कुलमानमाथि मात्र नैतिकताको कुरा उठाउनु स्वाभाविक हुँदैन,’ ढकालले भने । कोही राजनीतिक रूपमा सक्रिय हुन्छ भने देशका लागि नराम्रो नहुँदासम्म त्यसलाई स्वाभाविक मान्नुपर्ने र अरू मन्त्रीभन्दा बढी सक्रिय भएकाले कुलमानमाथि प्रश्न उठेको उनको विश्लेषण छ ।























