images
images
  • चिसोका कारण आगो तापेर पढ्दै विद्यार्थी, स्वास्थ्यमा जोखिम बढ्ने चिन्ता

    काठमाडौं जिल्लाको पूर्वी कर्णाली भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका९ पाँपुस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अत्यधिक चिसोका कारण पठनपाठन प्रभावित भएको छ ।

    हिमाली क्षेत्रमा चिसो बढ्दै गएपछि विद्यार्थीहरू कक्षाकोठामा बस्न नसकी खुला चउरमै आगो बालेर ताप्दै अध्ययन गर्न बाध्य भएका छन् । कक्षाकोठामा आगो बाल्दा दुर्घटनाको जोखिम हुने भएकाले खुला स्थानमा धुनी जगाएर त्यसकै तातोमा विद्यार्थी पढाउने गरिएको विद्यालयले जनाएको छ ।

    भौगोलिक अवस्थाका कारण विद्यालयमा बिहान करिब ८ बजे मात्र घाम लाग्ने र दिउँसो करिब १ बजेपछि घाम पूरै अस्ताउँछ । घाम अस्ताएसँगै कडा चिसो बढ्ने गरेको विद्यालय प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कक्षाकोठामा अध्ययनअध्यापन कठिन भएपछि आगो बालेर कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

    हाल उक्त विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् । जाडो मौसम झन् बढ्दै जाँदा विद्यार्थीहरूको नियमित उपस्थितिमा कमी आउनुका साथै पठनपाठनको वातावरण झन् चुनौतीपूर्ण बन्दै गएको विद्यालयले जनाएको छ ।

    चिसोका कारण साना कक्षाका विद्यार्थीहरू बढी प्रभावित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अनुसार कक्षाकोठामा न्यानोपनको कुनै व्यवस्था छैन । झ्यालढोका जीर्ण अवस्थामा हुनु, कक्षाकोठामा चिसो छिर्न नरोकिनु, तातो पानी तथा न्यानो बस्ने संरचनाको अभावले विद्यार्थीहरू समस्यामा परेका छन् । न्यानो वातावरण नहुँदा बालबालिकाले ध्यान दिएर पढ्न सकिरहेका छैनन् ।

    यसैगरी विद्यालयका अनुसार चिसो मौसमका कारण विद्यार्थीको उपस्थितिमा कमी आउनुका साथै कक्षामा ध्यान केन्द्रित गर्न कठिन भइरहेको छ । अत्यधिक चिसोले सिकाइ उपलब्धिमा नकारात्मक असर पारिरहेको छ । चिसो मौसमलाई मध्यनजर गर्दै स्थानीय तह, अन्य सरोकारवाला निकायबाट तत्काल सहयोग र वैकल्पिक व्यवस्था आवश्यक रहेको विद्यालयले जनाएको छ।

    आगो ताप्दै पढ्नुपर्दा बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्न सक्ने चिन्ता अभिभावकको छ ।

    हिमाली क्षेत्रमा चिसोको असरले बालबालिकाको स्वास्थ्य र शिक्षामा गम्भीर समस्या नआओस् भन्नका लागि विद्यालयमा न्यानो कक्षाकोठाको व्यवस्था, झ्यालढोका सुधार, वैकल्पिक सिकाइ समय निर्धारण तथा आवश्यक सामग्री उपलब्ध गराउन सरोकारवाला निकायको तत्काल ध्यान र पहल आवश्यक देखिएको स्थानीय बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images