काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तोकिएकै समयमा चुनाव हुने बताएका छन् ।
बाराको सिमरामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्न र सुरक्षित रूपमा अवतरण गराउन सही र सक्षम नेतृत्व छनोट गर्न आग्रह समेत गरेका छन्।
उनले भने, ‘तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न सरकारले आवश्यक तयारी गरिरहेको छ, चुनाव हुन्छ, आन्दोलनले चुनाव मात्र चाहेको हैन, विषम परिस्थितिमा हुन लागेको चुनावपछिको नेतृत्व कस्तो आउँछ त्यतातर्फ गम्भीर भएर सोच्नु पर्ने अवस्था छ, भ्रष्टाचार नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, सुशासनजस्ता आन्दोलनको म्यान्डेटलाई पूरा गर्न सक्षम र विश्वासिलो नेतृत्व चुन्नु पर्नेछ, त्यसैले यस्तो महत्त्वपूर्ण अवसरलाई प्रयोग गरी देशलाई समृद्ध बनाउन र नयाँ दिशातर्फ लैजान सक्ने नेतृत्व ब्यालेटमार्फत छनोट गरौँ ।’
उनले मधेश प्रदेशका जिल्लाहरूमा रहेको कृषिको अपार सम्भावनालाई ध्यान दिई खेतमा सिँचाइ गर्न विद्युत महसुलमा सहुलियत दिएर प्रति युनिट २ रुपैयाँ मात्र कायम गरिएको उल्लेख गरे ।
मधेश प्रदेशमा औद्योगीकरण र विद्युत आपूर्तिलाई पर्याप्त, भरपर्दो, सुरक्षित र गुणस्तरीय बनाउन ठूला क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवम् सुदृढीकरण भइरहेको उल्लेख गरे ।























