images
images
  • भिजिट भिसा प्रकरण : कम्पनीदेखि कर्मचारीसम्मको मिलेमतो, कसरी हुन्थ्यो घुस लेनदेन ?

    काठमाडौं– भिजिट भिसामार्फत विभिन्न देशमा विदेश पठाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट हुने ‘सेटिङ’मा दुई ट्राभल कम्पनीका सञ्चालकमार्फत घुस लेनदेन हुने गरेको भेटिएको छ ।

    यस प्रकरणमा तत्कालीन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई ७९ लाख ८० हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएको छ ।

    भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई रकम दिने क्रममा ‘ग्रिनलाइन होलिडे प्रालि’का सञ्चालक बालकृष्ण खड्का र ‘फेमिली होलिडे ट्राभल्स एण्ड टुर’का सञ्चालक दीपक भण्डारीसँग लेनदेन भएको देखिएको छ । भट्टराईले घुमाउरो रूपमा बालकृष्ण खड्काका भतिज राम खड्कामार्फत ‘पार्सल’ का रूपमा पैसा लिएको खुलेपछि विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

    ‘फेमिली होलिडे’ का सञ्चालक भण्डारीले तीर्थराज भट्टराईसँग ‘सेटिङ’ गरी १७ जना पुरुष र १८ जना महिलालाई भिजिट भिसामा विदेश पठाएको पाइएको छ । त्यस्तै ‘ग्रिनलाइन होलिडे प्रालि’का सञ्चालक खड्काले भने भट्टराईसँगको ‘सेटिङ’मा ५७ पुरुष र ४७ जना महिलालाई भिजिट भिसामा विदेश पठाएको खुलेको छ ।

    त्यस्तै तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालले भिजिट भिसा प्रकरणको घुसबापत ८ लाख रुपैयाँ अध्यागमन प्रमुख भट्टराईसँग लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ। भट्टराईसँग परिचित जग्गा कारोबारी खेमप्रसाद सुवेदीसँग कविता पौडेलले पटक–पटक रकम लेनदेन गरेको पनि भेटिएको छ ।

    तीर्थराज भट्टराईले कविता पौडेलको नाममा रहेको मोबाइल सिम अवैधानिक रूपमा प्रयोग गरी सो सिममार्फत भिजिट भिसाका यात्रुहरूको नामावली बालकृष्ण खड्कासमेतसँग आदानप्रदान गर्ने कार्यमा अधिक रूपमा प्रयोग गरेको भेटिएको थियो । साथै, कविता पौडेलको नाममा खेमप्रसाद सुवेदीमार्फत जग्गा खरिद गराएको भेटिएको छ ।

    पौडेलले खेमप्रसाद सुवेदीलाई रकम दिएको भनी डायरीमा टिपोट गरेको पाइएको थियो । अनुसन्धानबाट कविता पौडेलले तीर्थराज भट्टराईलाई ‘तिम्रो सामान सुवेदीसँग छ, उतैबाट लिनू’ भनी एसएमएस पठाएको पनि खुलेको छ । त्यस्तै भिजिट भिसामा मानिस पठाउने एजेन्ट चन्द्र प्रभाकर तिमिल्सेनाले होटल कर्मचारी जनक कर्माचार्यको व्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको र सो रकम बालकृष्ण खड्कामा फिर्ता हुने गरेको भेटिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images