काठमाडौं– बेकरी ब्रान्ड ‘नाङ्लो बेकरी प्रालि’ले उत्पादन गरेको ‘क्रसन’लाई बजारबाट फिर्ता गर्न आदेश दिएपछि नाम चलेका कम्पनीहरूले पनि मानव स्वास्थ्यमा खेलवाड गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने औद्योगिक ट्रान्स फ्याट मापदण्डभन्दा अत्यधिक भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत मंगलवार उक्त ब्रान्डको क्रसन बिक्री वितरण नगर्न र तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको हो ।
विभागले मंगलवार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) र उपदफा (४) बमोजिम कम्पनी उत्पादनहरू बजारबाट फिर्ता लिन र बिक्री वितरणमा रोक लगाउन आदेश दिएको हो ।
विभागले ललितपुर महानगरपालिका–१४, गोदावरीमा रहेको नाङ्लो बेकरी प्रालिबाट उत्पादित क्रसनको नमुना बजार अनुगमनका क्रममा संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा औद्योगिक ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी रहेको पाइएको थियो । जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । कम्पनीको ब्याच नम्बर–०१ उत्पादन मिति ३ डिसेम्बर २०२५ र उपभोग्य मिति १० डिसेम्बर २०२५ सम्म रहेको क्रसनको नमुना परीक्षणमा उक्त अखाद्य भेटिएको हो ।
नाङ्लोको उत्पादन न्यून गुणस्तरको उत्पादन मात्र नभई उपभोक्ताको स्वास्थ्य सुरक्षासँग जोडिएकाले बेचबिखन रोकेर बजारबाट फिर्ता ल्याउन भनेको विभागको भनाइ छ ।
औद्योगिक ट्रान्स फ्याटलाई आंशिक हाइड्रोजनेटेड तेलबाट उत्पादन गरिन्छ । यसलाई मुटुरोग, मधुमेह, उच्च रक्तचाप र अन्य दीर्घकालीन रोगहरूको प्रमुख कारक मानिएकाले विश्वभर प्रतिबन्धित गरिएको छ ।
उपभोक्ताको स्वास्थ्य जोखिम बढेपछि नेपालमा २०८१ सालदेखि खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी राख्न पूर्णप्रतिबन्ध गरिएको छ ।
ट्रान्स फ्याटसम्बन्धी मापदण्ड लागू भएको लामो समयपछि पनि ठूला ब्रान्डले पूर्ण पालन नगरेको भन्दै यसलाई उपभोक्ता स्वास्थ्यप्रति गम्भीर लापर्बाहीका रूपमा उपभोक्ता अधिकारकर्मी, स्वास्थ्यकर्मी तथा खाद्य विज्ञहरूले गम्भीर लापर्बाही भनेका छन् ।
कारवाही थालेको सो विभाग कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको हो । विभागले थालेको कारवाही प्रक्रियाको जानकारी मन्त्रालयमा समेत पुगिसकेको छ । मन्त्रालयकी प्रवक्ता सहसचिव डा।जानुका पण्डितले नाङ्लो बेकरी प्रालिले उत्पादन गरेको ‘क्रोइसन्ट’ मा मानव स्वास्थ्यमा असर गर्ने औद्योगिक ट्रान्सफ्याट मापदण्डभन्दा अत्याधिक भेटिएको विषय मन्त्रालयको जानकारीमा समेत आएको र विभागबाट विद्यमान ऐन नियमअनुसार आवश्यक कारवाही हुने बताइन ।


विश्व खबर 


















