images
images
  • पैसा फिर्ता माग्दा गोली हानेर युवकको हत्या गर्ने व्यक्ति लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइ

    काठमाडौं– बर्दियामा गोली चलाएर २८ वर्षीय युवकको हत्या भएको घटनामा प्रहरीले मुख्य आरोपीलाई पक्राउ गरेको छ।

    बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका–२ मा लुकिछिपी बसेको अवस्थामा प्रहरीले दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरीलाई पक्राउ गरेको हो।

    चौधरी लुम्बिनी प्रदेशसभामा कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्रीसमेत रहेका डिल्लीबहादुर चौधरीका साइँला भाइ हुन्। उनीहरू दुई दशकदेखि अलग अलग बस्दै आएका छन्।

    उनलाई बर्दिया र कैलालीबाट खटिएको प्रहरीको संयुक्त टोलीले एउटा खाली घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

    आइतबार बिहान बर्दियाको राजापुर नगरपालिका–४ मा आफैले सञ्चालन गर्दै आएको हमार थारू घर एन्ड रेस्टुरेन्टमा महावीरले गोली हानेर दाङ तुलसीपुर उपमहानगरपालिका–६ का २८ वर्षीय निरज चौधरीको हत्या गरेका थिए।

    प्रहरीले महावीरको पासपोर्ट, भिजा, अमेरिकी डलर लगायतका कागजात बरामद गरेको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार महावीरले निरजलाई तल्लो बाटो हुँदै अमेरिका पठाइदिने भनेर पैसा लिएका थिए। नातामा निरज महावीरका नाति पर्छन्।

    अमेरिकामा गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएयता आप्रवासी नीतिमा कडाइ गरेका छन्। नाकामा कडाइ गरेसँगै तल्लो बाटो भएर अमेरिका जाने क्रम धेरै हदसम्म नियन्त्रण गरेका छन्।

    त्यही कारण महावीरले निरजसँग मोटो रकम लिए पनि उनलाई अमेरिका पठाउन सकेका थिएनन्। अमेरिका जान नपाउने भएपछि निरजले महावीरसँग पैसा फिर्ता मागेका थिए।

    आइतबार पनि निरजले महावीरसँग पैसा फिर्ता मागेका थिए। लगातार पैसा फिर्ता माग्न थालेपछि महावीरले निरजको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    महावीर अमेरिकी ग्रीन कार्ड भएका व्यक्ति पनि हुन्। परिवारसहित अमेरिका बस्दै आएका उनी नेपाल आउजाउ गरिरहन्थे।

    त्यही क्रममा उनले त्यहाँका धेरै आफन्त र चिनजानका युवालाई तल्लो बाटो अमेरिका पठाउने प्रलोभनमा पारी विभिन्न व्यक्तिहरूबाट रकम लिने गरेको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images