काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिचको एकता भाँडिएको छ ।
जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् ।
रास्वपाबाट संवाद समितिका सहसंयोजक रहेका शिशिर खनालले उनेपाले पार्टी नै कब्जा गर्नेगरी सर्त राखेपछि एकता सम्भव नभएको जिकिर गरेका छन् । उनका अनुसार पार्टीको मुख्य नेता वरिष्ठ वा उपसभापति, महामन्त्री, सहमहामन्त्री सहित ५० प्रतिशत हिस्सा मागेपछि सहमत हुन नसकेको हो ।
तर, उनेपाका नेताहरूले पार्टी एकताका लागि हदैसम्मको लचिलो हुँदा समेत रास्वपाले सर्तमाथि सर्त राखेकाले एकताको ढोका बन्द भएको जिकिर गरेका छन् । निर्वाचन आयोगले पार्टी एकताका लागि दिएको समय सिमाभित्र एकता हुन नसकेपछि अब एकताको च्याप्टर क्लोज भएको प्रवक्ता डा. राजु थापा बताउँछन् ।
उनेपाका वार्ता टोली संयोजक डा. तारा जोशीले रास्वपासँग तत्काल एकताको सम्भावना टरेपनि सहकार्यको ढोका बन्द नभएको जिकिर गरे ।
उनेपाका अर्का एक नेताका अनुसार रास्वपा र विवेकशील साझा पार्टीबिच एकताका कारण समस्या आएको बताए । विवेकशील साझा रास्वपा र उनेपा दुवै पार्टीसँग निरन्तर छलफल थियो । तर रास्वपाले उनेपालाई कमजोर आँकेर मिडिया ट्रायल गर्न थालेपछि आफूहरू बिच्किएको ती नेताले जिकिर गरे ।























