images
images
  • महाधिवेशन : फरक मतलाई प्रवेश नदिने ओलीको तयारी, छलफल गराइछाड्ने पोखरेल समूहको दाबी

    काठमाडौं– नेकपा एमालेको आसन्न महाधिवेशनमा राजनीतिक, वैचारिक तथा सैद्धान्तिक रूपमा फरक मतमाथिको छलफललाई रोक लगाउने गरी संस्थापन पक्ष अघि बढेको छ । महाधिवेशनमा पार्टी सञ्चालनको विधि, पद्धति र नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठ्ने देखेपछि त्यसलाई दबाउन छलफलमा रोक लगाउने तयारी गरिएको हो ।

    यही २७–२९ मंसिरमा हुने ११औँ महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा टक्कर दिँदै छन् ।

    नेतृत्व हस्तान्तरणलाई मूल मुद्दा बनाएर अघि बढेको पोखरेल पक्षले पार्टीभित्रको विकृति र विसंगतिमाथि चर्को असन्तुष्टि जनाउँदै आएको छन् ।

    पार्टी सुदृढीकरणका लागि नेतृत्व परिवर्तन अनिवार्य सर्त राखेको पोखरेल पक्षले गत सोमबार महाधिवेशनमा छलफलका लागि भन्दै पार्टी केन्द्रीय कार्यालयमा अवधारणापत्र दर्ता गराएको छ । अवधारणापत्रमार्फत् पार्टी सञ्चालन प्रक्रियामा प्रश्न उठाउँदै आगामी दिनमा सामूहिक रूपमा पार्टी चलाउन अध्यक्षमा ओली दोहोरिनुनहुने अडान राखिएको छ । ओलीको विकल्प खोजिएपछि सो पत्रलाई कार्यसूचीमै नराखी महाधिवेशन प्रक्रिया अघि बढाउने तयारीमा संस्थापन लागेको हो । इतर पक्ष भने अवधारणापत्रलाई छलफलमा नराखे सशक्त प्रतिवाद गर्ने तयारीमा छ ।

    २ कार्यकालको कुरा उठेपछि छलफलमा रोक लगाइँदै

    अवधारणापत्रमार्फत् ओलीलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न नसक्ने प्रावधान प्रस्ताव गरिएको छ । जबकि ओली अध्यक्षमा तेहेरिने चाहनामा छन् । पदाधिकारीमा २ कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यवस्था गर्न पोखरेल पक्षको माग छ । त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिलाउनुपर्ने पनि माग छ ।

    आफ्नो विरोधमा फरक मत दर्ज हुने भएपछि ओलीले जसरी भए पनि अवधारणापत्रलाई महाधिवेशनमा प्रवेश निषेध गर्न खोजेका छन् ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयनका लागि हुने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक नहुने भन्दै महाधिवेशमा अवधारणापत्र माथि छलफल नहुने स्पष्ट पारे ।

    तर, गत २०–२२ भदौमा भएको विधान महाधिवेशनमा सम्पूर्ण रूपमा ओली अध्यक्ष हुने कि नहुने भन्ने विषयमा केन्द्रित भएर छलफल गराइएको थियो । नीतिगत विषय अद्यावधिक गर्ने प्रक्रिया केन्द्रीय कमिटीमार्फत् अघि बढ्ने भन्दै उपमहासचिव ज्ञवालीले महाधिवेशन विशुद्ध रूपमा नेतृत्व चयनका लागि केन्द्रित हुने बताए । उनले सैद्धान्तिक छलफल गर्ने वातावरण नबनेको भन्दै छलफल भए आरोप–प्रत्यारोपमा परिणत हुने जिकिर गरे ।

    छलफल गरिछाड्ने पोखरेल पक्षको अडान

    पोखरेल पक्षले ओली २०७१ सालमा नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि पार्टी संस्थागत रूपमा चल्न नसकेको विषयलाई नै मूल मुद्दा बनाएको छ । ओलीको पार्टी सञ्चालन विधि, पद्धति र कार्यशैलीलाई नै विरोधको हतियार बनाएको पोखरेल पक्षले जेनजी आन्दोलनपछि ओलीले राजनीतिक वैधता गुमाएको ठहर गरेको छ ।

    जेनजी आन्दोलन नभएको भए महाधिवेशनमा राजनीतिक सैद्धान्तिक कुरा नउठ्ने कुरामा आफूहरू स्पष्ट भए पनि परिस्थिति फेरिएका कारण सैद्धान्तिक छलफल हुनु अनिवार्य भएको नेताहरूले बताएका छन् । प्रतिस्पर्धामा अध्यक्षसहितको प्यानल बनाएर भिड्न तम्तयार पोखरेल पक्षले सैद्धान्तिक बहसबाटै ओलीलाई गलाउन सकिने आकलन गरेको छ । केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले नेतृत्व छलफल र बहसबाट भाग्नु नहुने भन्दै आफूहरूले ल्याएको अवधारणामा घनीभूत छलफल हुनुपर्ने बताइन् ।

    ‘विधान महाधिवेशनमा महाधिवेशन बाँकी छ भन्ने, महाधिवेशनमा चाहिँ विधान महाधिवेशनमा गरिसक्यौँ भन्ने, छलफल र बहसबाट भाग्ने नेतृत्वका कारण आन्दोलन संकटमा परेको छ,’ उनले भनिन्, ‘विधान महाधिवेशन पहिले र अहिलेको परिस्थिति आकाश–जमिनको फरक छ । हामीले ल्याएको अवधारणामा घनीभूत छलफल हुनुपर्छ ।’

    ओली पछि हटे पोखरेल पनि हट्न तयार

    वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीबाहेक अन्य कोही नेता अध्यक्षको उम्मेदवार बनेमा आफू पछि हट्ने बताएका छन् । बुधबार समाचारदातासँग छलफल गर्दै उनले आफू अध्यक्ष बन्ने भन्दा पनि ओलीलाई नेतृत्वबाट बिदाइ गर्ने विषय प्रमुख भएको स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images