images
images
  • हिल्टन होटलको बिमा लफडा, चार कम्पनीमाथि अख्तियार र प्राधिकरणले छानबिन गर्दै

    काठमाडौं– जेनजी प्रदर्शनका क्रममा हिल्टन होटलमा भएको क्षतिको बिमा दाबी प्रक्रियामा अनियमितता भएको आशंकामा अनुसन्धान भइरहेको छ । नियमविपरीत होटलको हुलदंगा तथा आतंकवाद (आरएसएमडीएसटी) जोखिम पुनर्बिमा गरिएको विषयमा फरकफरक कोणबाट अनुसन्धान अघि बढाइएको हो ।

    निर्जीवन बिमा कम्पनीहरूले बिमांक बराबरको आरएसएमडीएसटी बिमा अनिवार्य रूपमा गर्नुपर्ने र यसको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीले सञ्चालन गर्ने पुलमार्फत मात्र गर्नुपर्ने व्यवस्था भए पनि हिल्टन होटलको उक्त जोखिम पुनर्बिमा नेपाल पुनर्बिमामा नगरिएको भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बिमा प्राधिकरणबाट अनुसन्धान भइरहेको बताइएको छ ।

    विशेषगरी ओरियन्टल इन्स्योरेन्सले हिल्टल होटलको आरएसएमडीएसटी जोखिम पुनर्बिमा नगरेको प्रारम्भिक अध्ययन देखिएको स्रोतको भनाइ छ ।

    नेपाल पुनर्बिमा कम्पनीबाट हिल्टनको पुनर्बिमा नभएको खुलेपछि ओरियन्टल प्राधिकरणको निगरानीमा परेको छ । प्राधिकरणले ओरियन्टल इन्स्योरेन्सलगायत हिमालयन पुनर्बिमा, नेपाल पुनर्बिमा र एलियन्ट पुनर्बिमा ब्रोकर कम्पनीमाथि पनि डेढ महिना अघिदेखि निगरानी बढाएको स्रोतले बतायो ।

    स्रोतका अनुसार प्राधिकरणले ओरियन्टलबाट हिल्टनसम्बन्धी कागजात लिएर कर्मचारीहरूसँग सोधपुछ गरिरहेको छ । अनुसन्धानका क्रममा एलियन्ट पुनर्बिमा ब्रोकर पनि शंकाको घेरामा परेको छ । हिल्टनको पुनर्बिमा एलियन्टमार्फत गरिएको थियो । प्राधिकरणले एलियन्टसँग कागजपत्र माग गरिरहेको तर एलियन्टले जेनजी प्रदर्शनका क्रममा सबै फाइल जलेको दाबी गरेको छ ।

    यद्यपि, प्राधिकरणले एलियन्टले हिमालयन पुनर्बिमाको नाममा जारी गरेको डेबिट नोटमा हिल्टनको हिमालयन रिइन्योरेन्समा पुनर्बिमा नभएको तथ्य खुलेको बताइएको छ । यसमा हिल्टल होटलको प्रवद्र्धक शंकर समूहका लागि प्रस्तावित पुनर्बिमामा मिलेमतोको भएको आशंकामा नेपाल पुनर्बिमा कम्पनी पनि अनुसन्धानको दायरामा आएको स्रोतको भनाइ छ ।

    यसअघि जेन–जी प्रदर्शनपछि हिल्टनमा भएको क्षतिमा बीमा दाबी भुक्तानीका लागि ब्याक–डेट पोलिसी जारी गर्ने प्रयाससम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

    आयोगले प्राधिकरणलाई कागजात मागेपछि प्राधिकरण दबाबमा परेको स्रोतको भनाइ छ । ओरियन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा शंकर समूहका केही कम्पनीहरूको पुनर्बिमा नेपाल पुनर्बिमाबाट गरेको थियो । तर, चालू आर्थिक वर्षका निम्ति भएको स्पष्ट प्रमाण बिमा कम्पनीहरूले नै जुटाउन सकेका छैनन् । हिल्टन होटलमा शंकर समूहको प्रमुख लगानी छ । यसबाहेक ‘बिचौलिया’ समूहका नाइके दीपक भट्टको पनि लगानी रहेको र यही समूहको प्रमुख लगानीमा हिमालयन पुनर्बिमा कम्पनी रहेका हिल्टनको आरएसएमडीएसटी बीमा हिमालयन पुनर्बिमामा भएको छ, जुन प्राधिकरणको नियमविपरीत हो ।

    भदौ २४ मा जेनजी आन्दोलनका क्रममा होटलमा आगजनी भएको थियो । होटलको संरचना अध्ययन गर्न जापानी फर्म मियामोतोले गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images