काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।
काभ्रे घर भएका पाठक विरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको प्रहरीले जनाएको छ ।
भारत हुँदै इन्डोनेसिया पुगेका पाठक अहिले फिलिपिन्समा लुकेर बसेको आशङ्का गरिएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका छन् ।
आफूलाई उग्रबादी संगठनको अध्यक्ष बताउने पाठकले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । डिफ्युजन नोटिस जारी गरेपछि आरोपीको लोकेसन पत्ता लगाउन इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनले सहकार्य गर्छन् ।
हाइप्रोफाइललाई धम्की दिने प्रकाश पाठक केही समय अघिदेखि परिवारको सम्पर्कमा नभएको थाहा भएको छ । उनी काभ्रे स्थित घरबाट ‘भारत जान्छु’ भनेर हिँडेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।























