images
images
  • राष्ट्रिय अपाङ्ग महासंघमा भ्रष्टाचार, छानबिन समितिको छुट्टाछुट्टै प्रतिवेदन

    काठमाडौं– अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि स्थापित छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा भ्रष्टाचार भएको छ ।

    महासंघका अध्यक्ष देवीदत्त आचार्यको नेतृत्वमा चरम आर्थिक अनियमितता, संस्थागत बेथिति र स्वेच्छाचारिता मौलाएको भन्दै संस्थाभित्रैबाट विद्रोह सुरु भएको छ । हासंघद्वारा गठित छानबिन समितिले समेत अध्यक्ष आचार्यले साधारणसभा र महाधिवेशनको नाममा लाखौँ रुपैयाँ हिनामिना गरेको ठहर गरेको छ ।

    महासंघको आर्थिक सवालमा साझा सहमति कायम गर्न अमर गुरुङ, नवीनचन्द्र ढुंगेल, नेत्रप्रसाद सापकोटा र सुरेन्द्र खत्री सम्मिलित चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले अन्तिम निष्कर्ष भन्दै दुई वटा छुट्टाछुट्टै प्रतिवेदन बुझाएको छ ।

    जसमध्ये, सदस्यहरू नवीनचन्द्र ढुंगेल र नेत्रप्रसाद सापकोटाले तयार पारेको प्रतिवेदनले अध्यक्ष आचार्यको नेतृत्वमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ । सो प्रतिवेदनअनुसार २०७९ मंसिरमा नेपालगञ्जमा सम्पन्न २१औँ साधारणसभा तथा नवौँ महाधिवेशन र २०८१ पुसमा काठमाडौँमा सम्पन्न २२औँ वार्षिक साधारणसभामा गरी करिब १५ लाख ३२ हजार रुपैयाँ अनियमितता भएको छ ।

    नेपालगञ्ज महाधिवेशनमा खानपिन र आवासमा मात्रै ८ लाख ९३ हजार ५०१ रुपैयाँ अनियमितता भेटिएको छ । सम्झौतामा प्रतिछाक १५० रुपैयाँ खाना खुवाउने भनिए पनि भुक्तानी गर्दा २०० रुपैयाँको दरले बिल बनाइएको प्रतिवेदनमा उल्लेख छ ।

    अझ गम्भीर कुरा त, ‘डे प्याकेज’मा तीन दिनमा जम्मा १५९ जना मात्र उपस्थित भएकोमा ९६९ जनाको बिल बनाएर भुक्तानी दिइएको छ । उपस्थित नै नभएका व्यक्तिको नाममा र सम्झौता नै नभएका होटलहरूका नाममा लाखौँ भुक्तानी गरिएको समितिको निष्कर्ष छ ।

    काठमाडौँको २२औँ साधारणसभामा पनि उस्तै प्रवृत्ति दोहोरिएको छ । उपस्थित संख्याभन्दा बढीको बिल बनाउने, हाफ प्याकेज (रु. ४५०) को सट्टा फुल प्याकेज (रु. ८५०) को भुक्तानी दिने जस्ता हर्कत गरी ६ लाख ३९ हजार ४३२ रुपैयाँ हिनामिना गरिएको प्रतिवेदनमा उल्लेख छ । समितिले आफ्नो निष्कर्षमा स्पष्ट लेखेको छ– ‘नियमविपरीत बढी भुक्तानी भएको रकमलाई बेरुजु मानी आर्थिक प्रमुख व्यवस्थापकमार्फत महासंघको खातामा अनिवार्य दाखिला गर्ने वातावरण मिलाउने ।’

    यता, अमर गुरुङ र सुरेन्द्र खत्रीले भने अनियमितता नपाइएको प्रतिवेदन दिएका छन् । अध्यक्ष आचार्यले गुरुङ र खत्रीको प्रतिवेदन बोर्डमा लगेर पारित गराउँदै आफू चोखिएको बताएका छन् । अध्यक्ष आचार्यले आफूलाई बिनाआधार र प्रमाण उपाध्यक्षद्वयले दुःख दिएको दाबी गरेका छन् ।

    छुट्टाछुट्टै प्रतिवेदन हेर्न तलको लिंक क्लिक गर्नुहोस्

    छानविन समितिको निर्णय 1

    जिल्ला प्रशासन नया उजुरी पत्र ८२ कार्तिक२०गते

    प्रतिक्रिया दिनुहोस्
    images
    images