काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्लो आकांक्षी रहेका छन् ।
नेपाली कांग्रेसले जिल्ला र क्षेत्रबाट धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहेको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ‘अन्तिम पल्ट’ भन्दै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लड्ने आकांक्षी देखाएका छन् ।
अहिलेसम्म डडेल्धुराबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गरिएको छैन । तर, कांग्रेस जिल्ला समितिले पूर्वप्रधानमन्त्री देउवाको एक्लो नाम सिफारिस गर्ने तयारी गरिएको छ ।
मंगलबार देउवालाई भेट्न नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद , देउवाको गृहपालिका गन्यापधुराका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुराम नगरपालिका मेयर भरत बडायर जोशीलगायतका नेताहरू पुगेका थिए । उनीहरूसँग देउवाले अन्तिम पटक निर्वाचन लड्ने सङ्केत गरेका हुन् ।
देउवा डडेल्धुराबाट सात पटक संघीय निर्वाचनमा विजयी भइसकेका छन् । २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा देउवा विजयी भएका थिए ।























