काठमाडौं– नाबालिग बलात्कार अभियोगमा प्रहरीले एमाले नेता शिवशंकर साह (हिरा)लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई भारतको बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ मंगलबार राति धनुषा ल्याइएको हो।
प्रहरीका अनुसार गत कार्तिक २२ गते जानकी चोकस्थित एक होटेलमा १३ वर्ष ४ महिनाकी नाबालिगलाई दुई दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको थियो।
सो घटनामा संलग्न अभियोगमा जनकपुरधाम उपमहानगरपालिका–१० का स्वर्गीय किशोरीलाल साहका छोरा मनोजकुमार साहलाई यसअघि नै काठमाडौँबाट पक्राउ गरी धनुषा ल्याइसकिएको छ। मनोज साहको बयानका आधारमा हिरा साहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो, जसमा दुई जना अझै फरार छन्।
मंगलबार साँझ भारतको सीतामढीबाट एमाले नेता हिरालाई पक्राउ गरेर धनुषा प्रहरीलाई जिम्मा लगाइएको छ ।
हिरा एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखमा उम्मेदवार थिए । उनी प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्षसमेत छन् ।
यीबाहेक यही मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र बालिकाका मामासमेत पक्राउ परेका छन् ।























