काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
उनले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको उल्लेख गरेका छन् ।
उनी भन्छन् ‘ठेक्का अनुसार काम नहुँदा विकास निर्माणमा समस्या भएको छ, नेपालको कानुनले कुनै पनि काम ठेक्का विना गर्न दिँदैन, ठेक्का व्यवस्थापन नहुँदा रोजगारी, अर्थतन्त्रमा समेत असर पर्छ,’
उनले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिए । मन्त्री घिसिङले नेपालमा लगानी सम्मेलनभन्दा पनि ठेकेदारहरुको सम्मेलन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।























