काठमाडौं– जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ ।
आयोगका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ । अर्याल जेनजी आन्दोलनको बेलामा पनि सशस्त्र प्रहरी बलको नेतृत्वमा थिए ।
त्यसलगत्तै नेपाल प्रहरीका आईजी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ । कार्कीले २३ गते बेलुकी मन्त्रिपरिषदको निर्णयपछि भोलिपल्ट अर्थात भदौ २४ गते बिहानदेखि काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका थिए । जाँचबुझ आयोगले कार्कीलाई प्रहरी महानिरीक्षकको हैसियतमा नभई तत्कालीन एआईजीको भूमिका र जिम्मेवारीको हैसियतमा बयान लिने तयारी गरेको हो ।
अघिल्लो सातादेखि शुरु भएको काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको बयान भने सकिएको छ ।
तत्काली प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि बयान दिइसकेका छन् ।























