काठमाडौं– प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ ।
हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएका छन् ।
मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिका हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ । बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि छिमेकी पदमबहादुर पक्राउ परेका छन् ।
घाँस काट्न गएकाहरूले ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर क्षत–विक्षत अवस्थामा अंशुको शव फेला पारेका थिए ।
घटनापछि ३०० जना बढीसँगको अनुसन्धानपछि पदमबहादुरलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार मृतक बालिका र पक्राउ परेका अधिकारी छिमेकी हुन् ।
कसरी घट्यो यस्तो घटना ?
दसैं भर्खरै सकिएको थियो। मोरङको लेटाङ नगरपालिका–२ फडानीका नबिन गौतमकी १२ वर्षीया छोरी अंशु गौतम त्यसदिन साथी युरिका महतारासँग स्कुल नजिकैको चौरमा खेलिरहेकी थिइन्।
त्यहीबेला उनीहरूलाई छिमेकी पदम अधिकारीले बोलाउँछन्। उनलाई देखेपछि अंशुसँग खेलिरहेकी साथी युरिकाले पदमसँग पैसा माग्छिन्। युरिकालाई ५ रुपैयाँ दिएर त्यहाँबाट पदमबहादुरले पठाए ।
त्यसपछि अंशु एक्लै भइन् । अंशुलाई पदमबहादुरले घाँस काट्न सघाइदिन भन्दै फकाए । पैसा दिन्छु भनेपछि उनी घाँस काट्न सघाउनका लागि तयार भइन् । दिउँसो करिब ४ बजे पदमबहादुर साइकलमा हँसिया र डोरी बोकेर जंगलतर्फ लागे । बालिका पैदल जंगल छेउ पुगिन् ।
जंगलको मुखमा पर्खिरहेका पदमले अंशु आइपुगेपछि साइकलको पछाडि राखेर झण्डै ४ किलोमिटर भित्र जंगलमा पुर्याउँछन्। हरीका अनुसार जंगलभित्र सुनसान स्थानमा घाँस काट्दै गर्दा उनले बालिकालाई शारीरिक सम्बन्धका लागि प्रयास गरे । तर, उनले मानिनन् । नमानेपछि जबरजस्ती करणी गरे । ‘जबरजस्ती करणीपछि हातले घाँटी थिचेर हत्या गरे । घाँटी थिच्दा बालिकाको मृत्यु भयो । तर, उनलाई शंका लाग्यो । त्यसपछि हँसियाले घाँटी रेटेको खुलेको छ।’ एक अनुसन्धान अधिकृतले भने ।
बालिकाको हत्यापछि शव घटनास्थलमै छाडेर उनी सामान्य अवस्थामा जस्तै गरी घाँसको भारी लिएर घर फर्किएका थिए । तर राति अबेरसम्म अंशुको अत्तोपत्तो भएन । आफैंले हत्या गरेका अंशुलाई खोज्न उनै पदमबहादुर अघि सरे । बालिका हराएको भोलिपल्ट परिवारले खोजीका लागि भन्दै प्रहरीमा निवेदन दिएका थिए।
अघिल्लो दिन नै जंगलमा लगेर हत्या गरेका पदमबहादुरले पनि बालिका खोजीका लागि आफन्तलाई सघाइरहे । बालिका भेटिन्छन् भन्दै उनी खोजीमा सक्रिय थिए । १८ दिनपछि प्रहरीले बालिकाको शरीर छुट्टाछुट्टै स्थानमा फेला पारेको थियो । उनले लगाएको कपडा पनि छुट्टाछुट्टै स्थानमा थिए । बालिकाको हत्या आरोपी खोज्ने क्रममा प्रहरीले आफन्तसहित १६ जनाको पोलिग्राफ जाँच गरेको थियो । छिमेकी र वृद्ध भएका कारण पदमबहादुर भने शंकाको घेरामै परेनन् ।
सुरुमा छिमेकी भएका कारण सामान्य सोधपुछ गर्दा स्कुलमा भेटेको पदमबहादुरले प्रहरीसँग बताएका थिए । त्यतिबेला युरिकालाई ५ रुपैयाँ दिएको पनि स्वीकारे । अंशुसँग गफ गरेर आफू घर फर्किएको बताएका थिए ।
प्रहरीले घाँस दाउरा लिनका लागि जंगल जानेहरूमाथि निगरानी बढायो । बालिकालाई चिन्ने र बुझ्ने मान्छेमाथि पनि अनुसन्धान गर्यो । घटनाको सुक्ष्म रूपमा अनुसन्धान गरेको प्रहरीले लेटाङ आउने–जाने मानिसको अवस्थाको पनि अध्ययन गर्यो ।
घटनाअघि र घटनापछि लेटाङमा सक्रिय रहेको मोबाइल नेटवर्कको पनि अनुसन्धान भयो । तर, सबै क्षेत्रबाट अनुसन्धान गर्दा कुनै क्लू फेला परेको थिएन । प्रहरीको अनुसन्धान साँघुरिंदै थियो । १९ कात्तिकमा पदमबहादुर घर छाडेर हिंडे ।
उनले घर छाड्नु भन्दा अघिल्लो दिन छोरा जेलबाट छुटेका थिए । प्रहरी उपरीक्षक कटवालका अनुसार पदमका छोरा सीताराम जबरजस्ती करणी प्रयास उद्योगमा सजाय भुक्तानपछि १८ कात्तिकमा घर फर्किए । छोरा फर्किएपछि भारत जानुअघि उनले परिवारका सबै सदस्यसँग सल्लाह नगरी छोरालाई मात्रै सुनाएका थिए । अनुसन्धानका क्रममा घरमा सल्लाह नगरी भारत गएको खुलेपछि प्रहरीले उनीमाथि शंका गरेको थियो ।
त्यसपछि आफन्तले फकाएपछि अधिकारी १८ मंसिर बेलुका घर फर्किए । भोलिपल्ट प्रहरीले ल्याएर अनुसन्धान सुरु गर्यो । सुरुमा आरोप अस्वीकार गरेका पदमबहादुरले पछि घटना स्वीकारे ।
उनीमाथि बालिका बलात्कार र कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।























