images
images
  • अख्तियारले अनुसन्धान गर्न थालेपछि हर्क साम्पाङ आक्रोशित

    काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले अगाडि बढाएको सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले अनुसन्धान गर्न थालेको छ ।

    गत १४ गते अख्तियारले पत्र पठाउँदै प्रतिष्ठानमा रकम अपचलन भएको आशंका रहेको भन्दै छानबिन अगाडि बढाउने बताएको छ ।

    अख्तियारले प्रारम्भिक चरणमै दर्ता, विधान, पदाधिकारी, आर्थिक अभिलेख, आय–व्यय विवरण, बैंक खाताको स्टेटमेन्टदेखि जग्गा खरिद–बिक्रीसम्मका कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरेको छ ।

    चन्दा संकलनबाट सुम्निमा पारुहाङको मूर्ति बनाउने अभियान चलाइरहेका मेयर हर्क अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

    आफूहरूले लामो समयदेखि सुम्निमा पारुहाङको प्रतिमा बनाउने कोसिस गरेको भन्दै भनेका छन्, ‘हामीले गरेको राम्रो कोसिस देखी नसहेर कुन चाहिँ फटाहा, चोर, गधाले उजुरी हालेछ ।’

    उनले यस्ता उजुरी आफ्नो लागि नौलो नभएको समेत बताए । धरानमा फूल रोप्दा, बिरुवा रोप्दा वा ९८ दिनमा को–काहाँबाट पानी ल्याउँदा पनि उजुरी परेको बताए ।

    अख्तियारले सोधेको प्रश्नको जवाफ हिजो नै पठाएको पनि बताएका छन् । यस्ता खाले गतिविधिहरूलाई निरुत्साहित गर्नुपर्ने पनि बताएका छन् ।

    ‘मजस्तो कन्सेप्ट र भिजन भएको मान्छेले काम सुरु गर्दा यहाँ विकास विरोधीहरू थुप्रो छन् । देश बिग्रेकै यस्ता सडे गलेका, कुहिएको मनस्थिति भएका मान्छेहरूले गर्दा हो,’ साम्पाङले भने, ‘हामीले प्रत्येक कुराको हिसाब देखाउँछौँ, देखाइरहेका छौँ । यहाँ त आफ्नो बारीमा मकै रोप्दा पनि मुद्दा लगाउँछन् । अब उजुरी–फुजुरी हाल्नेहरूले पनि माटो चुनाव चिह्नमा भोट हाल्नु खुरुक्क ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images