काठमाडौं– ११औँ महाधिवेशनका लागि नेकपा एमालेले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली टुंग्याउनै लाग्दा ईश्वर पोखरेल समूहले असन्तुष्टि जनाएको छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमै पुगेर पोखरेल समूहले प्रतिनिधि छनोट विवाद सल्टाउन सचिवालय बैठक बोलाउन मागसमेत गरेको छ ।
दर्जनभन्दा बढी जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटका क्रममा ओली समूहबाट हस्तक्षेप भएको उनीहरूको आरोप छ । महाधिवेशनमा आफ्नो पक्षमा नतिजा पार्न जिल्लाका नेताहरूले केन्द्रकै सहयोगमा थरीथरी निर्देशन दिँदै प्रतितिनिधि चयन प्रक्रिया प्रभावित पारेको पोखरेल समूहका नेताहरूको दबी छ ।
पोखरेलसहित उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले बिहीबार ओलीलाई भेटेरै यसबारे असन्तुष्टि जनाएका थिए । १३ गते एकै दिन देशभरबाट प्रतिनिधि छनोट गर्ने भनिए पनि केन्द्रको दबाब र जबरजस्ती सर्वसम्मति गराउन खोज्दा केही जिल्लामा प्रतिनिधि छनोट विवाद अझै सल्टिएको छैन ।
प्रतिनिधि छानिएका केही जिल्लामा पनि निष्पक्ष नभएको भन्दै विरोध भइरहेको छ । महाधिवेशनका लागि १ साता मात्र बाँकी रहेको अवस्थामा पनि प्रतिनिधि चयनकै विवाद सुल्झिन नसकेको र महाधिवेशनको तयारीबारे छलफल गर्न पनि तत्काल सचिवालय बैठक आवश्यक रहेको उनीहरूको माग छ ।
भोलेन्टियर फोर्सबाट ७ जना प्रतिनिधि
एमालेले महाधिवेशनको मिति घोषणा भइसकेपछि गठन भएको ‘नेसनल भोलेन्टियर फोर्स’बाट पनि महाधिवेशन प्रतिनिधि चयन गरेको छ । यो विषयलाई लिएर पार्टीभित्रकै केही नेताहरूले असन्तुष्टिसमेत जनाइसकेका छन् ।
बिहीबार ईश्वर पोखरेललगायत नेताहरूले ओलीलाई यस विषयमा पनि जिज्ञासा राखेका थिए । तर, ओलीले त्यो विषय सुन्नै नचाहेको एक नेताले बताए । महाधिवेशन घोषणा भइसकेपछि बनेका जनसंगठनबाट महाधिवेशन प्रतिनिधि बनाउन पाउने कुनै वैधानिक व्यवस्था एमालेमा छैन ।
तर, ओलीले आफूअनुकूल हुने गरी उक्त फोर्सबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन गरेका छन् । फोर्सबाट छानिएकाहरूमा खुलातर्फबाट पुष्पराज श्रेष्ठ, अमित पौडेल, विदुर शर्मा, सञ्जीव धिताल र सागर भट्ट छन् भने महिला क्लस्टरबाट विनिता काफ्ले र सीता सुवेदी छन् ।
पोखरेल समूहले भने त्यसलाई कुनै हालतमा नमान्ने जनाइसकेको छ । युवा संघमा रहेर वर्षौंदेखि पार्टीको काम गरे पनि आफूहरूलाई सधैँ बेवास्ता गर्दै आएको र अहिले निर्माणको १ महिना पनि नभएको संगठनबाट महाधिवेशन प्रतिनिधि ल्याएर आफूहरूको अपमान गरेको उनीहरूको आरोप छ ।























