images
images
  • मधेसमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी, कसले मार्ला बाजी ?

    काठमाडौं– मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।

    प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले बुधबार संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

    तर दलहरुबिच सहमति बनिसकेको छैन । मुख्यमन्त्रीमा हालसम्म नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दाबी देखिएको छ ।

    सात दलको बैठकमा भएको सहमतिले त्यसबारेमा तय गर्ने माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरत साहले बताए । ‘लोसपा र कांग्रेसले मात्र होइन, सात दलीय गठबन्धनमा रहेका सबै दलले सरकारको नेतृत्व गर्न पाऊँ भनेर दाबी गरेका छन् । कसले पाउँछ भन्ने कुरा छलफलले टुंगो लगाउँछ,’ उनले भने ।

    यसअघि माओवादी, एकीकृत समाजवादी, जसपा नेपाल, जनमत र लोसपा नेपालसहितको पाँच दलीय गठबन्धनबाट लोसपा नेपालका उपाध्यक्ष जितेन्द्र सोनल मुख्यमन्त्री बनेका थिए ।

    विश्वासको मतको प्रक्रिया सुरु नहुँदै उनले राजीनामा दिएपछि प्रदेशसभाको ठुलो दलको हैसियमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर यादवको नियुक्ति अवैधानिक भएको भन्दै कांग्रेस, माओवादी, जनमत, लोसपा, जसपा नेपालसहित सात दलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

    सुनुवाइपछि सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो । तर मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत नलिँदै राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भएको हो ।

    लोसपा नेपालका नेताहरु जितेन्द्र सोनलले विशेष परस्थितिमा राजीनामा दिएर सात दलीय गठबन्धनको नेतृत्व गर्दै आन्दोलन गरेकाले पहिलो दाबी आफ्नो पार्टीको नै हुने बताउँछन् । लोसपाका महासचिव डा। सुरेन्द्र झा भन्छन्, ‘सोनलले कुन अवस्थामा कसरी राजीनामा दिए सात दलकै नेताहरुलाई थाहा छ ।‘

    तर कांग्रेस संसदीय दलका नेता कृष्ण यादव गठबन्धनमा ठुलो दलको हैसियतले मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताउँछन् । ‘हरेक दलले पालो पालो मुख्यमन्त्री चलाइसके । अब कांग्रेसको दाबी हफ । तर सबै दलको यसमा सहमति हुनुपर्छ,’ उनी भन्छन् ।

    पाँच दलको गठबन्धन बनेर सोनललाई मुख्यमन्त्री बनाउँदा कांग्रेस एमालेको साथमा थियो । सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिइसकेपछि कांग्रेस बल्ल पाँच दलीय गठबन्धनमा आएको हो ।

    जसपा नेपालका एक नेता भन्छन्, ‘कांग्रेसले सुरुमै एमालेको साथ छाडेर पाँच दलीय गठबन्धनमा आएर मुख्यमन्त्रीमा सोनललाई विश्वासको मत दिएको भए अहिलेको अवस्था हुने थिएन । तर कांग्रेसले आफू मुख्यमन्त्री पाउनका लागि यो सब खेल गरेको हो ।‘

    सात दलभित्र यी सबै विषयमा छलफल हुने र जसमाथि सहमति हुन्छ, उही दलले मुख्यमन्त्री पाउने ती नेता बताउँछन् ।

    माओवादी केन्द्र संसदीय दलका नेता साह अब प्याकेजमै सहमति हुने बताउँछन् । ‘सभामुख, मुख्यमन्त्री, विभिन्न आयोगका सदस्य, मन्त्रीलगायतका हरेक विषयमा छलफल हुन्छ । सात दलभित्र प्याकेजमै सहमति भएपछि मुख्यमन्त्रीको टुंगो लाग्छ,’ उनी भन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images