images
images
  • महाधिवेशनमा कडा टक्कर : केन्द्रीय सदस्य र पदाधिकारीको सूची बनाउँदै ओली, पोखरेल समूहले बनायो युवा दस्ता

    काठमाडौं– ११औँ महाधिवेशनको अन्तिम तयारीमा जुटेको नेकपा एमाले अबको नेतृत्व चयनका लागि भने फुट्दै छ । आन्तरिक एकताको अभाव र अविश्वासको वातावरणबीच मंसिर २७ देखि २९ गतेसम्म एमालेको ११औँ महाधिवेशन हुने भएको छ ।

    भक्तपुरमा महेश बस्नेतको सुरक्षा घेराभित्र उद्घाटन गरेर महाधिवेशनका बाँकी कार्यक्रम भृकुटीमण्डपमा हुँदै छ । मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुनेछ ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका सबै संयन्त्र अहिले महाधिवेशनकै तयारीमा जुटेका छन् ।

    संगठन विभाग सचिव माधव ढुंगेलका अनुसार प्रतिनिधि छनोटको काम लगभग टुंगिइसकेको छ भने जिल्लाबाट आएका प्रतिनिधिको सूची टुंग्याउँदै सार्वजनिक गर्ने तयारी छ । ढुंगेलका अनुसार ११औँ महाधिवेशनका लागि २ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    केन्द्रीय सदस्य र पदाधिकारीको तयारीमा ओली
    अध्यक्ष ओलीले गोजीबाट केन्द्रीय सदस्यको टुंगो लगाउने र चुनाव भए तिनीहरूलाई नै भोट हाल्न प्रतिनिधिलाई ह्विप लगाउने तयारी गरेका छन् ।

    यस पटक ईश्वर पोखरेल टिमको तयारीबाट झस्किएका ओली अहिलेदेखि नै आफ्नो टिम छान्ने गृहकार्यमा लागिसकेका छन् ।

    ओली निकट एक नेताका अनुसार क–कसलाई पदाधिकारी र केन्द्रीय सदस्य बनाउने भन्नेबारे लिस्ट तयार हुँदै छ । महाधिवेशनअघि नै त्यसलाई टुंग्याएर सार्वजनिक गर्ने ओलीको तयारी छ ।

    विद्या भण्डारी नै ओलीविरुद्ध लागेकाले शक्ति सन्तुलन टक्करको हुने देखिएको छ । यसअघि ओलीको सारथि बनेका पोखरेल भण्डारीको समर्थनमा आफैँ अध्यक्षका दाबेदार रहेकाले १०औँ महाधिवेशनजस्तो सहज ओलीलाई छैन । १०औँ महाधिवेशनमा चुनावको अघिल्लो रात गोजीबाट नाम निकालेर सुनाएका ओली अहिले भने महाधिवेशनअघि नै आफ्नो टिम तयार गर्ने गरी जुटेका छन् ।

    के गर्दै छ पोखरेल समूह ?
    जेनजी आन्दोलनपछि पार्टीसँगै अध्यक्ष ओलीको सुरक्षाका लागि भन्दै ५ मंसिरमा ओली स्वयं र महेश बस्नेतको पहलमा आपराधिक पृष्ठभूमिका पुष्पराज श्रेष्ठको कमान्डमा ‘नेसनल युथ भोलिन्टियर फोर्स’ गठन गरिएको थियो । उक्त फोर्स विशेष गरी महाधिवेशन र चुनावी कार्यक्रमका लागि बनेको थियो ।

    महाधिवेशनमा पनि ओली पक्षको सुरक्षा गर्नु उक्त फोर्सको मुख्य काम रहेको बताइएको छ । ओलीको सुरक्षामा खटिएको उक्त फोर्सले गत आइतबार पोखरेल पक्षका नेता कर्ण थापामाथि दुव्र्यवहार गरेको थियो । त्यसपछि ‘नेसनल युथ भोलिन्टियर फोर्स’ एमालेभन्दा पनि ओलीका लागि रहेको निष्कर्ष निकाल्दै भण्डारी–पोखरेल समूहमा पनि छुट्टै युवा दस्ता बनाउनुपर्ने माग उठेको थियो ।

    सोमबार पोखरेलको सम्पर्क कार्यालय थापागाउँमा भएको छलफलमै युवा दस्ताबारे कुरा उठेको थियो ।

    औपचारिक घोषणा गरेरै युवा दस्ता परिचालन गर्दा समस्या हुने भएपछि अहिले त्यो दस्ताले अनौचारिक रूपमै काम गरिरहेको छ । उक्त दस्ताको नेतृत्व भने सुमन पुरीले गरिरहेका छन् ।

    गत आइतबार महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रममा पुगेका पोलिटब्युरो सदस्यलाई ओलीको सुरक्षामा खटिएका स्वयंसेवकले दुव्र्यवहार गरेपछि बनेको उक्त दस्ता थापासहितका नेताहरूको सुरक्षामा खटिएको छ ।

    बुधबार पार्टी कार्यालय च्यासल पुगेका थापालाई पुरी नेतृत्वको युवा दस्ताले सुरक्षा दिएका थिए । त्यसअघि थापाले उनीहरूसँग पोखरेलको सम्पर्क कार्यालय रहेको थापागाउँमा सामूहिक तस्बिरसमेत खिचाएका थिए ।

    पुरी तिनै व्यक्ति हुन्, जो गत जेठमा पोखरामा भएको युवा संघको निर्वाचनमा क्षितिज थेबेसँग पराजित भएका थिए । अहिले थेबे ओलीतिर छन् भने पुरी भण्डारी–पोखरेल खेमामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images