images
images
  • कांग्रेस महाधिवेशन : सभापतिमा त्रिपक्षीय भिडन्तको संकेत, कसले मार्ला बाजी ?

    काठमाडौं– नेपाली कांग्रेसको आगामी पुसमा हुन लागेको १५औं महाधिवेशन सभापति पदका लागि त्रिपक्षीय भिडन्त हुने संकेत दखिएको छ ।

    सभापतिमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरिसकेका छन भने देउवा निकट मानिएका उपसभापति पूर्णबहादुर खड्काले आन्तरिक तयारीमा गरिरहेको बताइएको छ । योसँगै तीन जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    महामन्त्री थापाले सभापतिका लागि औपचारिक घोषणा गरिसकेका छन् भने कोइरालाले पनि यस अघिदेखि नै सभापतिमा उठ्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । त्यसैले शेखर सभापतिमा उठ्ने निश्चित छ ।

    यद्यपि, १४औं महाधिवेशमा शेखर र गगन एउटै समूहबाट चुनाव लडेका थिए । त्यति बेला गगन महामन्त्रीमा विजय भएका थिए भने शेखर शेरबहादुर देउवासँग पराजित भएका थिए । त्यसैले यसपटक शेखर स्वाभाविक रूपमा सभापतिको दाबेदार हुने उनका निकटहरू बताउँछन् ।

    यता, देउवाले पार्टी पुनर्गठनको संवेदनशील मोडमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर खड्कालाई भावी सभापतिका रूपमा वातावरण बनाउन सहज बनाएका छन् । त्यसैले देउवा समूहको पहिलो विकल्प खड्का हुने धेरैको अनुमान छ ।

    कांग्रेस नेताहरूका अनुसार संस्थापन इतरको दायरा दुई भागमा विभाजित रहेकै अवस्थामा शेखर र गगन दुवै सभापतिमा उत्रिए संस्थापन पक्षले अघि सार्ने पूर्णबहादुर खड्कालाई प्रत्यक्ष लाभ हुने स्पष्ट छ । तर, दुवै नेता एउटै लाइनमा उभिए संस्थापनलाई चुनौती कडा हुनेछ ।

    यही सम्भावनालाई दृष्टिगत गर्दै शेखर पक्षले गगन समूहसँग सहकार्य खोज्ने गृहकार्य तीव्र बनाएको छ । बुधबार काठमाडौंमा नजिकका नेताहरूसँग शेखरले गरेको विस्तृत परामर्शको मूल केन्द्र– ‘पहिले शेखर, अर्को महाधिवेशनमा गगन’ समीकरण निर्माण गर्ने प्रयास रहेको बताइएको छ ।

    तर, गगनले सभापतिमा उठ्ने घोषणा गरिसकेकाले उनी ब्याक हुने सम्भावना न्यून छ । युवाहरूको समर्थन र महाधिवेशन नजिकिँदै जाँदा बढ्दो आत्मविश्वासले उनी सहजै पछि हट्ने वातावरण निकै कमजोर देखिन्छ ।

    यिनै कारणले त्रिपक्षीय भिडन्तको सम्भावना रहेको विश्लेषण गर्न थालिएको छ ।

    यद्यपि, शेखरको मध्यमार्गी प्रस्तावका कारण कांग्रेस फुटको खतराबाट जोगिँदै पुसमा महाधिवेशन गर्ने बाटोमा पुगेको शेखर निकट नेताहरूले बताएका छन् ।

    तर, गगन निकटहरूले भने महाधिवेशनको मुख्य एजेन्डा संगठन पुनर्गठनजस्ता विषय गगनको भएकाले उनी सभापति बन्नुपर्ने धारणा राख्दै आएका छन् ।

    त्यस्तै, मध्यमार्गी भूमिका खेलेको दाबी गर्दै पूर्णबहादुर खड्का पनि महाधिवेशन पुसमा नै गर्नुपर्ने पक्षमा उभिएको बताउँदै आएका उनी यो महाधिवेसबाट आफैं सभापति हुनुपर्ने तर्क गर्छन्।कांग्रेसको सभापति पद केवल संगठनको नेतृत्वमात्र नभई भोलिको प्रधानमन्त्रीको सम्भावित कुर्सीसमेत मानिने भएकाले मुख्य दाबेदारहरू जुनसुकै मूल्य चुकाएरै भए पनि मैदान नछोड्ने अनुमान राजनीतिक वृत्तमा बलियो छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images