images
images
  • कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभाको टिकट एकै पटक बाँड्ने

    काठमाडौँ – नेपाली कांग्रेसले ११ माघमा हुने राष्ट्रियसभा र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकै पटक टिकट वितरण गर्ने भएको छ । तल्ला निकायबाट मंसिर मसान्तभित्र नाम आइसकेपछि प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारको टिकट एकै पटक वितरण गर्ने कांग्रेसको तयारी छ ।

    यसका लागि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न कांग्रेसले सम्बन्धित निकायलाई परिपत्र गरिसकेको छ । यसबारे सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नै निर्णय गरेको थियो ।

    ‘११ माघ, २०८२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक सदस्यहरूको निर्वाचनका लागि प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालयमार्फत् स्पष्ट निर्देशनसहित परिपत्र गर्ने,’ केन्द्रीय समिति बैठकले गरेको निर्णयमा उल्लेख छ ।

    कांग्रेस सचिवालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार उम्मेदवारको नाम सिफारिस गर्न भन्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिहरूलाई सोमबार नै परिपत्र गरिसकेको छ ।

    यस पटक कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड पनि तय गरेको छ । कांग्रेसले तयार पारेको मापदण्डअनुसार सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्ति उम्मेदवार बन्न पाउनेछैनन् भने २०७९ को निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्ति पनि २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार हुन नपाउने भएका छन् ।

    त्यस्तै, २०७९ को प्रदेशसभा निर्वाचनमा समानुपातिकको बन्दसूचीमा समावेश भएकाहरू पनि उम्मेदवार बन्न नपाउने भएका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पनि उम्मेदवार बन्न रोक लगाएको छ । यसबाहेक पार्टीको सिफारिसमा विभिन्न जिम्मेवारीमा पुगेर पार्टीलाई लेबी नबुझाउनेहरू पनि उम्मेदवार बन्नबाट रोकिने भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images