काठमाडौँ – जेनजी आन्दोलनका क्रममा व्यक्तिका घरमा आगजनी र तोडफोड गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरा १० का सभापति चन्द्रबहादुर थापा कारागार चलान भएका छन् । उनले आन्दोलनका क्रममा पोखरा मेयर धनराज आचार्यको घरमा आगजनी र तोडफोड गरेको किटानी जाहेरी छ ।
जिल्ला अदालत कास्कीले उनीसहित ४ जनालाई एकैदिन पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आपराधिक उपद्रव तथा डाँका चोरी मुद्दामा थापा सहित बिना मल्ल भनिने विमला सापकोटा, बुद्ध भनिने चिनबहादुर खवासलाई पुर्पक्षका लागि थुनामा पठाएको कास्की प्रहरीले जानकारी दिएको छ ।
सोही घटनामा अर्का एक नाबालकलाई पनि पुर्पक्षका लागि सुधार गृह पठाइएको छ । घटनामा संलग्नताको आधारमा पक्राउ परेका चन्द्रका भाइ खली भनिने हरिबहादुर थापालाई भने २ लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ । आन्दोलनको दोस्रो दिन उनीहरुले सरकारी सम्पत्तिसँगै मेयर आचार्यको घरमा आगजनी र तोडफोड गर्दै गरेको फोटो, भिडियोको प्रमाण सहित जाहेरी दिइएको थियो ।
आगजनी र तोडफोडको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि रास्वपाले उनलाई पक्राउ पर्नुअघि नै निलम्बन गरेको थियो । उनीसँगै मादी ६ का सभापति भोजराज पौडेल पनि निलम्बनमा परेका छन् । आन्दोलनको मौका छोपेर सरकारी र निजी सम्पत्तिमाथि क्षति पुर्याउनेलाई कास्की प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
हालसम्म ५७ जना पक्राउ परिसकेका छन् भने १४ जनालाई पुर्पक्षका लागि कारागार पठाइएको छ । २९ जना अनुसन्धानकै क्रममा हिरासतमा छन् । अन्य १४ जना धरौटीमा रिहा भएका पाण्डेले जानकारी दिए । घटनामा संलग्नहरूको बारेमा प्रमाण सहित सरकारी कार्यालयहरूले आफ्नै जाहेरी दिएका छन् भने व्यक्तिगत रुपमा पनि जाहेरी परेको छ ।
त्यसक्रममा कास्कीभर झण्डै ५ अर्बको क्षति भएको सरकारी तथ्यांक छ । जिल्लाभर १ सय १६ वटा सरकारी कार्यालयमा क्षति पुगेको थियो । संघीय कार्यालय २६ वटा, प्रदेशका ३३ वटा, स्थानीय तह सहित भवन र सवारी साधनमा २ अर्ब १८ करोड बराबरको क्षति भएको रिपोर्ट छ ।
यस्तै, १ सय १९ चार पाङ्ग्रे सवारी र २ सय १० वटा दुई पाङ्ग्रे सहित ३ सय २९ वटा सवारी साधनमा क्षति पुगेको थियो । २७ वटा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको रेकर्ड छ । होटल र नेताका घर समेत जोड्दा २ अर्ब ७३ करोड रुपैयाँको निजी सम्पत्ति क्षति भएको विवरण प्राप्त भएको कास्की प्रशासनले जनाएको छ ।























