काठमाडौँ – २ महिनादेखि कांग्रेसभित्र चलिरहेको नियमित कि विशेष महाधिवेशन र महाधिवेशन चुनावअघि कि पछि भन्ने बहस समाप्त भएको छ । लामो रस्साकस्सीपछि निर्वाचनअघि नै नियमित महाधिवेशन गर्ने गरी सहमति भएको हो ।
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता रमेश लेखक, मीन विश्वकर्मालगायतसँग छलफल गरेका थिए । छलफलपछि दुवै पक्ष पुस मसान्तभित्र महाधिवेशन गर्न सहमत भएका हुन् ।
पटक–पटक सर्दै आएको केन्द्रीय समिति बैठक आज सोमबार बस्दै छ । उक्त बैठकमा कार्यवाहक सभापति खड्काले पुस २७ देखि ३० गतेसम्म हुने गरी महाधिवेशनको कार्यतालिकासहित प्रस्ताव प्रस्तुत गर्नेछन् ।
संस्थापन पक्षले संसदीय चुनावपछि मात्र महाधिवेशन गर्ने भने पनि इतर समूहले चुनावअघि नै गर्नुपर्ने भन्दै नियमित नभए विशेषको प्रक्रियामा जानुपर्ने अडान नछाडेपछि चुनावअघि नै महाधिवेशन गर्न संस्थापन पक्ष राजी भएको हो ।
महाधिवेशनको विषयमा संस्थापन र इतर समूहबीच सहमति हुन नसकेपछि सभापति शेरबहादुर देउवा नै सक्रिय भएका थिए । देउवाकै निर्देशनमा संस्थापन पक्ष पुस मसान्तमा महाधिवेशन गर्न तयार भएको हो भने त्यसलाई इतर समूहले पनि स्वीकारेको छ ।
तर, संस्थापन पक्षकै केही नेताले भने उक्त प्रस्ताव स्वीकारेका छैनन् । उनीहरू निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा छन् । विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला पक्षका नेताहरूले आजको बैठकमा यसबारे नोट अफ डिसेन्ट लेखरै महाधिवेशनको प्रस्तावमा असहमति जनाउने तयारी गरेका छन् । सिटौला र निधिले यसअघि नै चुनावपछि मात्र महाधिवेशनमा जान उपयुक्त हुने बताउँदै आएका छन् । समिति बैठक तथा आन्तरिक छलफलमा पनि उनीहरूले अहिले नै महाधिवेशनमा जाँदा २१ फागुनको निर्वाचनमा बाधा पर्ने भन्दै अहिले महाधिवेशनको बहस छाडेर चुनाव प्रचारप्रसारमा लाग्नुपर्ने सुझाव दिँदै आएका छन् ।
इतर समूहका नेता गुरुराज घिमिरे भने असन्तुष्ट पक्ष पुसमा हुने भनिएको महाधिवेशनका लागि तयार हुनेमा विश्वस्त देखिन्छन् ।























