images
images
  • जेनजी आन्दोलनका १६९ जना घाइतेहरुलाई चार समूहमा वर्गीकरण, कुन समूहमा कति ?

    काठमाडौँ – गत भदौ २३­ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा काठमाडौंमा घाइते भएकाहरूको वर्गीकरण गरिएको छ । आजसम्म कूल १६९ जना घाइतेको विवरण प्राप्त भई वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

    दुई चरणमा गरेर घाइतेहरूको वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका अनुसार चार समूहमा घाइतेहरूको वर्गीकरण गरिएको छ । जसमा अति गम्भीर घाइतेको सूचीमा १५, गम्भीर घाइतेको सूचीमा ५१, मध्यममा ३६ र सामान्य घाइतेको सूचीमा ६७ जना रहेको छन् ।

    कार्यालयका अनुसार यही मंसिर ५ गते र १२ गते दुई चरणमा छलफल गरी घाइतेहरूको वर्गीकरण गरिएको हो । अशक्तहरूको हकमा भने उपचाररत अस्पतालमा गएर टोलीले वर्गीकरण गरेको हो ।

    प्रशासन कार्यालयमा आउन अफ्ठयारो हुनेहरुको हकमा एम्बुलेन्समार्फत ल्याएर वर्गीकरण गरिएको हो । प्रजिअको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ का आधारमा हालसम्म १६९ जनाको वर्गीकरण गरेको हो ।

    प्रशासन कर्यालयले उक्त वर्गीकरण सम्पन्न गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस पठाउने र सोही आधारमा मन्त्रालयले निर्णय गरी घाइतेहरुको सूची अनुसार आवश्यक सेवा सुविधा र सामाजिक सुरक्षाको व्यवस्था मिलाउने जनाएको छ । जेनजी आन्दोलनका लागि सुरुमा प्रशासन कार्यालयले ३१५ जनालाई अनुमतिपत्र उपलब्ध गराएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images