काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि समानुपातिकतर्फ उम्मेदवार बन्दसूची बनाउँदा ५ वटा मार्गदर्शक सिद्धान्त अपनाउने भएको छ । सहमहामन्त्री विपिनकुमार आचार्यले तयार पारेको उम्मेदवार छनोट रूपरेखामा पाँचवटा सिद्धान्तलाई आधार मानिएको हो ।
पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारी गर्दा नेपालको संविधान, लागू कानुन तथा निर्वाचन आयोगको दिशानिर्देशलाई पूर्ण सम्मान गर्दै, समावेशी लोकतन्त्र, सङ्घीय सन्तुलन, आचार–नीति, नवोदय नेतृत्व र मापनयोग्य वस्तुपरकतामा अग्रसर गर्ने अतिरिक्त मानकहरू अपनाउने आचार्यले जानकारी दिए ।
सिङ्गो देशलाई एक निर्वाचन क्षेत्र मानेर जनसङ्ख्याको आधारमा ११० समानुपातिक बन्द सूची राजनीतिक दलहरूले निर्वाचन आयोगमा बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।
यस्ता छन् सिद्धान्तहरू
१. सङ्घीय सन्तुलन र क्षेत्रगत न्याय
क. सात प्रदेशबाट यथोचित र सन्तुलित प्रतिनिधित्व सुनिश्चित गरिनेछ । प्राथमिक आधार प्रदेशको क्लस्टरीय जनसंख्या हिस्सा र पार्टीको मतदाता हिस्सा रहनेछ ।
ख. बन्दसूचीमा प्रत्येक प्रदेशको न्यूनतम प्रतिनिधित्वको ‘तल्लो सीमा’ निर्धारण गरिनेछ ।
२. परिष्कृत समावेशिता
संविधानरनिर्वाचन आयोगले परिभाषित क्लस्टररसमुदाय (जस्तै महिला, दलित, जनजातिरआदिवासी, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्रभित्रका विशेष स्थान र सुविधा दिनुपर्ने उपसमूहहरूलाई) मूलधारमा ल्याउने गरी छनोट विधि निर्माण गरिनेछ ।
३. युवा नेतृत्वको उदयन
क. जेन–जेड स्पिरिटलाई राजनीतिको मूलधारमा ल्याउने उद्देश्यले समानुपातिक बन्द सूचीमा युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
ख. यस्तो सुनिश्चिततामा प्रदेशगत सन्तुलन राखिनेछ ।
४. प्रवास (डायस्पोरा) – ‘रिटर्न पाथवे’
विदेशमा सीपरअनुभव आर्जन गरेका नेपाली नागरिकका लागि स्पष्ट, पारदर्शी प्रवेश–मार्ग स्थापना गरिनेछ र बन्दसूचीको समग्र सन्तुलन रक्षा हुने गरी अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
५. एकपटक मात्र समानुपातिक
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक प्रतिनिधित्व प्रणालीको मूल मर्म- अवसरको पुनः वितरण (रिडिस्ट्रिब्युसन अफ अपर्च्युनिटी) लाई सुरक्षित गर्न एउटा व्यक्तिलाई एक पटक मात्र समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनाउने नीति अङ्गीकार गर्नेछ ।























