काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकतामा आएका व्यक्तिलाई व्यवस्थापन गर्नका लागि सङ्घीय नेतृत्व मञ्च (फेडरल लिडरशिप फोरम) बनाएको छ । शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले मञ्च बनाउने निर्णय गरेको हो । रास्वपाको विधानले भने यो मञ्चलाई चिन्दैन ।
समान विचार, सिद्धान्त भएका पार्टी तथा व्यक्तिलाई रास्वपामा जोड्ने उद्देश्यका साथ मञ्च बनाउने निर्णय भएको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार सबै पार्टीलाई जोड्न खोजेका छौँ । एकता प्रक्रियामा जोडिन आएका व्यक्तिको प्रतिष्ठा, क्षमता, सक्रियता आधारमा पार्टीको जिम्मेवारी दिने उद्देश्यले संघीय नेतृत्व मञ्च बनाउने सचिवालय बैठकको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
यसको हैसियत केन्द्रीय सदस्यसरह हुने आचार्यले बताए । यस मञ्चमा कति जना रहने, कस्ता–कस्ता व्यक्ति रहने भन्ने विषय अब बस्ने सचिवालयले टुङ्ग्याउने छ ।
प्रवक्ता मनिष झाले पार्टीको महाधिवेशनसम्मका लागि मञ्च गठन गर्ने निर्णय भएको जानकारी दिए । महाधिवेशन अगाडि पार्टी एकतामा आएका सबैलाई जिम्मेवारी दिँदै जाँदा सांगठनिक र पदीय व्यवस्थापनमा समेत समस्या आउन सक्ने भएकाले यस्तो निर्णयमा पुगेको उनले स्पष्ट पारे ।
‘सङ्घीय नेतृत्व मञ्च महाधिवेशनसम्मका लागि गठन गर्ने निर्णय भएको हो । एकता प्रक्रियामा आएका सबैलाई केन्द्रीय समितिमा ल्याउँदा समस्या आउन सक्छ । अहिले झमेलामा फस्नुभन्दा मञ्चमा बसेर उसको क्षमता, योग्ता, दक्षता हेरेर केन्द्रीय समिति, विभाग वा अन्य जिम्मेवारी दिँदा राम्रो हुने निष्कर्षका साथ यो निर्णयमा गरिएको झाले जानकारी दिए ।
‘सङ्घीय नेतृत्व मञ्च बनाउने विषयमा सचिवालय बैठकमा व्यापक छलफल भएको थियो । एकता प्रक्रियामा आउने व्यक्तिलाई कुन जिम्मेवारी कसरी दिने भन्ने विषयमा छलफल पश्चात हामी एउटा साझा निष्कर्षमा पुगेको रास्वपाले जनाएको छ ।
अगामी फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाले नयाँ र वैकल्पिक पार्टीहरूसँग एकता र सहकार्यको पहल गरिरहेको छ । विभिन्न व्यक्ति र समूहलाई पार्टीमा प्रवेश गराउने नीति लिएको उसले आज विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दैछ ।























