images
images
  • महाधिवेशन : एमालेमा प्रतिनिधि छनोट, तल्लो तहसम्मै देखियो ध्रुवीकरण

    काठमाडौँ – नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिँदा संस्थापन पक्ष र संस्थापनइतर पक्षबीचको ध्रुवीकरण तल्लो तहसम्मै प्रष्ट देखिएको छ। महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा कोशी अन्तर्गत् तराइका जिल्लाहरूमा संस्थापन र इतरपक्षले प्यानल नै बनाएरै चुनाव लडेका छन् भने पहाडी जिल्लाहरूमा भागबण्डामा सर्वसम्मत चयन भएको छ।

    एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बुमा निर्विरोध प्रतिनिधि छानिएका छन्। ओखलढुंगा र धनकुटामा निर्वाचन भए पनि विवाद भएको छ। धनकुटामा विवाद हुँदा मतपत्र च्यातिएको थियो भने ओखलढुंगामा खसेको भन्दा धेरै मत देखाइएको भन्दै विवाद भएको थियो।

    निर्वाचन भएका जिल्लाहरूमध्ये कोशीमा बहुसंख्यक प्रतिनिधि आफ्नो पक्षको निर्वाचित भएको दाबी संस्थापन पक्षको छ भने ईश्वर पोखरेल पक्षले पनि आफ्नो पक्षका प्रतिनिधिहरु ‘काफी संख्यामा छानिएको’ दाबी गरेको छ।

    अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा ओली पक्षको वर्चश्व स्थापित हुँदा पोखरेल पक्षका नेता विनोद ढकालको गृहजिल्लामा ढकाल समर्थकहरु धेरै चुनिएका छन्। मोरङको क्षेत्र नम्बर ६ मा पोखरेल पक्षले क्लिन स्वीप गरेको छ भने झापा १ मा ओली पक्षले।

    मोरङ ६ मा भएको महाधिवेशन प्रतिनिधि निर्वाचनमा ढकालले नै सर्वाधिक मत प्राप्त गरेका छन्। अन्तिम मतपरिणाम अनुसार उनले १ हजार ५२७ मत प्राप्त गरेका छन्। सोही प्यानलबाट पितकुमार श्रेष्ठ १ हजार २८९, रमेशकुमार पोखरेलले १ हजार २८६ र सत्यनारायण चौधरीले १ हजार २७६ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

    महिला र युवामा पनि क्रमशः पोखरेल प्यानलकै सरस्वती भण्डारी, सरस्वती खरेल र सन्तोष घिमिरे निर्वाचित भएका छन्। भण्डारीले १ हजार १५८, खरेलले १ हजार २६४ र घिमिरेले १ हजार ११८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ। झापा निर्वाचन क्षेत्र नम्बर १ बाट दुई महिलासहित ६ जना महाधिवेशन प्रतिनिधि ओली पक्षका निर्वाचित भएका छन्।

    निर्वाचित भएकाहरूमा खुलातर्फ राजु पोखरेल, असारू राजबंशी र लक्ष्मी राई छन्। महिलातर्फ रमा भण्डारी र जानुका ओली निर्वाचित हुँदा युवातर्फ दीपक बराल निर्वाचित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट दुई महिलासहित ७ जना निर्वाचित भएका छन्। निर्वाचित भएकाहरूमा खुलातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिमबहादुर कार्की छन्। महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल निर्वाचित बन्दा युवातर्फ रोशन सुबेदी निर्वाचित भए। झापा क्षेत्र नं ३ बाट दुई महिलासहित छ जना निर्वाचित बनेका छन्।

    निर्वाचित भएकाहरूमा खुलातर्फ छविलाल चुडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ , महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल निर्वाचित भएका छन्। युवातर्फ अग्निप्रसाद सापकोटा निर्वाचित भए। उनीहरु सबै ओली पक्षका मानिन्छन्।

    झापा क्षेत्र नम्बर ५ मा खुल्लातर्फ अम्बिकप्रसाद खनाल, शिव ढुगेल, होमबहादुर थापा, तुलसी कार्की निर्वाचित भएका छन्। महिलातर्फ अम्बिका देवी अधिकारी, नर्वदा उप्रेती गौतम, लिला ढुंगेल दाहाल निर्वाचित भएका छन्। युवातर्फ युवराज पौडयाल विवश निर्वाचित भएका छन्। ओलीको निर्वाचन क्षेत्र ५ बाट निर्वाचित हुनेहरू पनि उनी पक्षकै बढ्ता छन्। झापामा दुई दलितसहित ३८ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने र दलित तर्फ सर्वसम्मत गर्ने भनेपछि ३६ जनाको लागि निर्वाचन भएको थियो।

    यसैगरी इलामबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । इलाम १ बाट खुलातर्फ उदयबहादुर राई, उमेश गुरुङ, काजीमान कागते, खम्बसिंह लिम्बु र दीपककुमार थेबे चयन हुँदा युवातर्फ टीका पौडेल निरोज चयन भएका छन्। महिला तर्फ उमादेवी सुनुवार, शकुन्तला लेप्चा र सावित्रा शिवा निर्विरोध भएका छन्।

    इलाम २ बाट सुहाङ नेम्वाङ, केशवकुमार धौराली, गणेशप्रसाद बराल, दिपेन्द्र खनाल, महेश बस्नेत र हेमन्त राई सर्वसम्मत प्रतिनिधि चयन भएका छन्। दलित कोटाबाट देवेन्द्र विश्वकर्मा पनि निर्विरोध प्रतिनिधि चयन भएका छन्। युवातर्फ रामप्रसाद सुवेदी चयन हुँदा महिला तर्फ टीकादेवी घिमिरे, दिलकुमारी लिम्बु र पबिमाया राई चयन भएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images